राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक रामहरि बजगाइँले बैंकमा आवद्ध सहकारी संस्थाहरूको विकास, प्रवर्द्धन र सुदृढिकरणका लागि आफु लागिपर्ने बताएका छन् । उनले बैंकमा आवद्ध सदस्य संस्थाहरूमा दिगोपना ल्याउन, नीतिगत रूपमा सहजिकरण गर्न र बैंकले सञ्चालन गरेको स्तरिकण कार्यक्रममा आवद्ध गराइ स्तर वृद्धि गर्न समेत सहयोग पुर्याउने जनाएका छन् ।
सहकारी संस्थाहरूको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक भएको र बैंकमा आवद्ध संस्थाहरूको समान विकासका लागि भूमिका निर्वाह गर्ने समेत बजगाइँले जनाए ।
२०६८ सालमा आमन्त्रित संचालकको रूपमा बैंकमा प्रवेश गरेका बजगाइँ त्यसयता निरन्तर बैंकको सञ्चालक रहेका छन् । २०७० साल देखि कहिले निर्विराेध त कहिले निर्वाचन प्रणाली मार्फत सञ्चालक चुनिइ सहकारी संघसंस्थाको प्रवर्द्धनमा क्रियाशील रहेका बजगाइँ बर्तमान विषम परिस्थितिमा रहेका थुप्रै चुनौतीहरुको सामना गरी राष्ट्रिय सहकारी बैंकलाई 'उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक' निर्माण गर्नुपर्ने जिम्मेवारी थपिएको बताउँछन् ।
‘बैंकका सदस्यहरूको विश्वास र सहकार्यले थप क्रियाशील भुमिका निर्वाह गर्न उत्साहित र जिम्मेवारीबोध गराएको महशुस भएको छ ।’ उनले थपे, ‘१९ औं बार्षिक साधारणसभामा बागमती प्रदेश अन्तर्गत सञ्चालक सदस्य पदमा निर्विरोध निर्वाचित गराउनुहुने सबैमा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
संस्थागत सुशासन र पारदर्शितालाइ स्थापित गर्न पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता उनले जनाए । उनले भने, ‘राष्ट्रिय सहकारी बैंकमा आवद्ध सहकारी संघ र संस्थाहरुको गरिमा उच्च राख्न समर्पित भइ सदैव लाग्ने संकल्प गर्दछु।'