शनिबार, आश्विन १७ गते २०८३

मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा घट्यो

पौष १८, २०७९ सोमबार
मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा  प्रवाहित कर्जा  घट्यो


आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशमा  औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २.९५ प्रतिशतले घटेर १ खर्ब २ अर्ब १३ करोड रूपैयाँमा सीमित भएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको मधेश प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। यस प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ६३.९८ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत छ।

  मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२.३९ प्रतिशत, कृषि(वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.५७ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ७.६२ प्रतिशत लगानी भएको छ। त्यस्तै, निर्माण उद्योगतर्फ ७.२७ प्रतिशत, खानी उद्योगतर्फ १.६६ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८ प्रतिशत कर्जा प्रवाह भएको छ। यस प्रदेशबाट बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ६१ अर्ब ८१ करोड निक्षेप संकलन गरेका छन्। यसमा ५.३५ प्रतिशतले वृद्धि भएको हो। 

त्यस्तै, यस प्रदेशमा प्रवाह गरेको कर्जा १६.७० प्रतिशतले वृद्धि भएर चार खर्ब ३० अर्ब ९ करोड रूपैयाँ पुगेको छ। त्यसैगरी कृषि उपजले ढाकेको भू–क्षेत्रफल अघिल्लो वर्षको भन्दा ०.३० प्रतिशतले घटेर १ लाख ६३ हजार २९ हेक्टरमा सीमित भएको छ। प्रदेशको समग्र कृषि बालीहरू खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला को कुल उत्पादनमा समेत ०.५३ प्रतिशतले ह्रास आएर ६३ लाख ८२ हजार ६ सय १२ मेट्रिक टन पुगेको छ। 

यो प्रदेशमा दूधको उत्पादनमा ६.०३ प्रतिशतले ह्रास आएको छ भने मासु, अण्डा र छालाको उत्पादन वृद्धि भएको छ। यी वस्तुको उत्पादन क्रमशः ६.४९, २.३३ र ४.८५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी माछाको उत्पादनमा ६.४२ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ जुन यो क्षेत्रमा प्रवाह भएको कुल कर्जाको १२.५५ प्रतिशत हो। मधेश प्रदेशमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला पर्छन्।