मध्यपुर थिमि शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारणसभा सम्मन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्व एवं बागमती प्रदेश सांसद डा.राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाका प्रमुख अतिथि श्रेष्ठले शुभश्रीले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानको लागि खेलेको भुमिकाको प्रशंसा गरे । सभाका विशिष्ट अतिथि नेफ्स्कूनका पुर्व अध्यक्ष एवं सहकारी विज्ञ कैलाशभक्त प्रधानाङले सदस्यको आवद्धता र पूँजी परिचालनको हिसाबले सहकारी ठुलो शक्ति भएर पनि राष्ट्रिय पहिचान बनाउन नसकेको बताए ।
सहकारीका सञ्चालकमा शुद्ध आचरण र पारदर्शिता नहुँदा समस्या आएको उनले बताए । सहकारीकर्मी भन्ने तर सहकारीको आचरण के हो ? त्यो थाहा छैन उनले भने,‘कृषि, बहुउदेश्यीय र बचत ऋण सहकारीले परिभाषित उदेश्य अनुसार काम गरेको भए समस्या आउने थिएन ।’ सहकारी नियमनको लागि दक्ष जनशक्ति अभाव रहेको भन्दै उनले न्युन जनशक्तिले यति धेरै सहकारीको अनुगमन गर्न नसक्ने बताए । सहकारीले सदस्यको आर्थिक,सामाजिक तथा सांस्कृतिक उत्थान गर्ने भने पनि सहकारी आर्थिक कारोवारमा मात्रै सिमित रहेको उनको भनाई छ ।

सभामा नेफ्स्कुनकी सञ्चालक मन्दरा मिश्रले सामुदायिक र सदस्यकेन्द्रित संस्थामा भन्दा पनि पारिवारिक रुपले चलेको संस्थामा समस्या रहेको बताइन् । व्याजको लोभमा भन्दा पनि संस्थाका सञ्चालकहरुको पृष्ठभुमि बुझेर मात्र सदस्य बन्न र वित्तीय कारोबार गर्न उनले सुझाव दिइन् ।
कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी संघका सञ्चालक पञ्चकृष्ण श्रेष्ठले सदस्य संस्थाहरुलाई तरलता व्यवस्थापनमा संघले सघाउँदै आएको बताए । बिना धितो लगानी गर्ने र सञ्चालक हावी भएको सहकारीमा समस्या आएको भन्दै उनले थपे,‘ सञ्चालकहरुले संस्थाको बचत जथाभावी चलाउँदा सहकारीमा समस्या आयो ।’
सभामा अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले धेरै संस्थामा तरलता संकट रहेकाले आफुहरुले प्रयाप्त तरलता व्यवस्थापन गरेर बसेको बताए । बैंक तथा वित्तीय संस्थामा समेत तरला अभाव रहेको र त्यसको प्रभाव सहकारीमा पर्दा संस्थाको कारोवारमा केही कमी आएको उनले जनाए । शुभश्रीलाई समुदायमा आधारित संस्थाको रुपमा विकास गर्ने र सामाजिक सांस्कृतिक र पर्यावरणको क्षेत्रमा समेत काम गर्ने उनको भनाई छ । सदस्यहरुलाई सहज वितीय सेवा दिन संस्थाले मोबाईल बैकिङ सेवा सुरु गरेको उनले जानकारी दिए । उनले सदस्यको विश्वास र साथ पाए संस्थालाई भक्तपुरमा मात्र नभइ मुलुककै नमुना संस्था बनाउने बताए । अहिले पालिका, प्रदेश र संघकोे फरक फरक ऐन हुँदा ऐनका कतिपय कुरा बाझिन गएकाले काम गर्न अप्ठयारो परेको समेत श्रेष्ठले बताए । संस्थाको कार्यक्षेत्र विस्तार गरी जिल्लाभर बनाउने योजना रहेको समेत सो अवसरमा उनले बताए ।
संस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आ.ब. ०७८ /०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म २६५३ शेयर सदस्यबाट ४ करोड ६७ लाख ३१ हजार शेयर पुँजी संकलन गरेको बताए । संस्थाले त्यस अवधिमा ३२ करोड ७० लाख ९७ हजार बचत संकलन गरी २४ करोड १९ लाख ३१ हजार ऋण लगानी गरेको उनले जानकारी दिए । त्यस अवधिमा संस्थाले ४९ लाख १६ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले साधारणसभाको अवसरमा जेष्ठ सदस्य, एसइइमा उत्कृट अंक ल्याउने छात्रछात्रा, राष्ट्रिय खेलाडी र शिक्षाविदलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत निःशुल्क आँखा,दाँत तथा स्वास्थ्य परिक्षण शिविर, खुल्ला रक्तदान जस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
