ओरेण्टल कोअपरेटिभ लिमिटेडमा ४ हजार १३२ पीडितले निवेदन दिएका छन् । बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म पीडितहरुले ३ अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रुपैयाँ दाबी गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदाबी गर्न सूचना प्रकाशित गरेको थियो ।
ओरेण्टलसँग मुद्दती बचत, साधारण बचत र शेयर रकम मागदाबीको अद्यावधिक गरेका छन् । दोस्रोपटक थपिएको अवधिसम्म पनि थाहा नपाएको भन्दै आजसम्म उपत्यका बाहिरबाट ओरेण्टल पीडित कार्यालयमा आइरहेको समितिले जनाएको छ । फेरि म्याद थप्ने वा नथप्ने विषयमा समिति बैठकले निर्णय गर्ने जनाइएको छ । देशभर ९ शाखा खोली १० अर्ब रुपैयाँभन्दा बढी बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले जनाएको छ ।
यसअघि मागदाबी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, सेयर र अपार्टमेन्टको समेत गरी १० अर्ब रुपैयाँभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । वि.सं. २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
२०६८ सालमा नै उक्त सहकारी संस्थाले सदस्यकाे बचत फिर्ता गर्न नसकी समस्या परेकाे भए पनि सहकारी एन २०७४ जारी भएपछिमात्र संस्थालाइ विधिवत् रूपमा समस्याग्रस्त घाेषित गरिएकाे थियाे । समस्याग्रस्त घाेषणा भएकाे यतिका समयसम्म बितिसक्दा बचत रकम फिर्ता हुन सकेकाे छैन ।