आजबाट डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम नेपालमा पहिलो पटक डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष आजबाट सुरु भएको हो ।
कोर्ष शुभारम्भ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मीनराज कडेलले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित तथा सुशाशित गराउन कोर्ष कोषेढुड्डा सावित हुने अपेक्षा रहेको बताए । कोर्षको उद्देश्यबारे जानकारी गराउँदै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सबैभन्दा दु्रत रूपमा विकास हुने सहकारी व्यवसायका लागि आवश्यक दक्ष र प्रतिस्पर्धी जनशक्ती उत्पादन गर्न नेपालमा नै पहिलो पटक सुरु भएको डिप्लोमा कोर्ष अव्बल सावित हुनेमा आफू विश्वस्त रहेको बताईन । सहकारी अभियानमा देखिएको समस्या न्यूनीकरणका लागि समेत कोर्ष सहायक सिद्ध हुने समेत बताईन ।
काठमाडौं विश्वविद्यालय उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताउँदै सो कोर्ष व्यवसायिक र प्राज्ञिक विषय वस्तुको समिश्रण गरी बैज्ञानिक आधारमा निर्माण गरिएको जानकारी गराए ।
कोर्षको संयोजन गरिरहेका महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले तालिमको व्यवस्थापकीय पक्षहरुको वारेमा जानकारी गराएका थिए । उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा महासंघका नायब महाप्रबन्धक वावुल खनालको समेत उपस्थिति रहेको थियो । काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा कक्षा सहजीकरण गरिने सो कोर्षको पहिलो ब्याचमा विभिन्न सहकारी संस्थाका व्यवस्थापकिय भुमिकामा रहेका २० जना सहभागी रहेका छन् ।