नेपालमा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा अन्यको तुलनामा बढी वैदेशिक लगानी भित्रिएको छ। हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा अधिकांश पर्यटन र सेवामूलक क्षेत्रका रहेका छन् ।
उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार २०७९ कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो ।
यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो ।
लगानी स्वीकृत भएकामध्ये पनि सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन् । गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा एक हजार आठ सय ६७ र पर्यटन क्षेत्रमा एक हजार आठ सय ५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले जनाएको छ । त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग एक हजार दुई सय ६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२, पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन् ।
हालसम्म वैदेशिक लगानी स्वीकृत भइसकेका उद्योगमध्ये ठूला उद्योग तीन सय २३, मझौता उद्योग छ सय २२ र साना उद्योग चार हजार छ सय ८३ छन् । त्यस्तै, हालसम्म वैदेशिक लगानी भित्रिएका साढे पाँच हजारभन्दा बढी कम्पनीबाट दुई लाख ९७ हजार नौ सय ३५ जनाले रोजगारी पाएको पनि विभागको विवरणमा उल्लेख छ ।