शनिबार, आश्विन १७ गते २०८३

हस्तकला व्यापार मेला मंसीर २३ देखि

मंसिर २१, २०७९ बुधबार
हस्तकला व्यापार मेला मंसीर २३ देखि

मंसिर २३ देखि २७ गते होटेल हायात रिजेन्सी, बौद्ध, काठमाडौंमा १९औ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

मेलामा ४ वटा प्याभिलियन सहित करिब १३० स्टल रहने छन् । उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

मेलाको प्रमुख आर्कषणको रुपमा रहेको हस्तकला प्रतियोगिता अन्तर्गत परम्परागत विधातर्फ काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरुडको मूर्ति निर्माण प्रतियोगिता र समसामयिक विधातर्फ प्राकृतिक रेसाहरुको प्रयोगबाट हस्तकला मफलर डिजाइन प्रतियोगिता रहनेछन् ।

मेलाले नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्ने, हस्तकला र नेपाली सँस्कृतिबीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने, विदेशी क्रेताहरुलाई हस्तकला सामानहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा आयोजकको रहेको छ ।

उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्धननमा सहयोग पुर्‍याउने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि यो मेलाको मुख्य उद्देश्य रहेको छ । 

मेलाका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, होटल हायात रिजेन्सी, नबिल बैंक लगायतले सहयोग गर्ने महासंघले जनाएको छ ।