रमेश कुमार उदास
नेपाल उद्योग बाणिज्य महासंघको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बैंकको ब्याजदर कम गर्नुपर्ने माग गरेका छन् । उनीहरुले उत्पादनमूलक उद्योगहरुलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा ऋण लगानी गर्नुपर्ने व्यवस्था बनाउन माग गरेका छन् ।
अर्थमन्त्री शर्माले सरकार यस विषयमा गम्भीर रहेकाले महासंघले दिएको सुुझाव अनुसार नै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अगाडि बढ्ने कुरामा मन्त्रालयको सहयोग रहने विश्वास दिलाए ।
महासंघका तर्फबाट अर्थमन्त्रीलाई बुझाइएका मागहरुः
- अनिवार्य नगद अनुपातलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्छ । नीतिगत दर घटाउनुपर्नेछ ।
- सरकारी ढुकुटिमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गरिनुपर्छ ।
- स्थानिय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सत प्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।
- पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ ।
- अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ ।
- वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ ।
- सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको कन्ट्री रेटिङ तत्काल गरिनुपर्ने जनाएको छ । अन्तर्राष्टिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ ।
- निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिन को लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्छ ।
- सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्छ ।