भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले सम्मान, राहत एवं संरक्षित पुँजी कोष वितरण कार्यक्रम आयोजना गरेको छ ।
एशियाली ऋण महासंघ एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता, सूर्यविनायक नगरपालिका वडा नं. ४ का नगर सदस्य उज्जवल राजथला र ललितपुर, महालक्ष्मी नगरपालिका, लुभु स्थित कल्याणकारी साकोसका ब्यवस्थापक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व सचिव कुमार खत्री तथा जनता साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजक सानुकन्छा राजथलाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हो।
संस्थाका नियमित बचतकर्ता ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान सहित नियमित बचतकर्ता फरक क्षमता भएका शेयर सदस्यहरु र एकल महिला सदस्यहरूलाई राहत बितरण र संस्थाको चौधौं बार्षिक साधारण सभाद्वारा पारित आ.ब. २०७८/७९ को संरक्षित पूंजी कोष फिर्ता कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सदस्य विकास समितिका संयोजक चन्द्रमाया श्रेष्ठले गरेकी थिइन् । मानव कल्याण समाज सेवा घरका अध्यक्ष सुमी मानवद्वारा मन मोहक रुपमा सञ्चालित उक्त कार्यक्रममा कार्यक्रमको बारे संस्थाका अध्यक्ष राजेश कुमार राजथलाले प्रकाश पारेका थिए भने उपस्थित सम्पूर्ण मानुभावहरुलाई संस्थाका उपाध्यक्ष महेन्द्र राजथलाले स्वागत गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ, फरक क्षमता र एकल महिला शेयर सदस्यहरुलाई ईलेक्ट्रिक जेल हट प्याड र नगद रकम बितरण गरिएको थियो भने असल नियमित बचतकर्ता र ऋणी शेयर सदस्यहरुमध्ये उच्च संरक्षित पूंजीकोष फिर्ता पाउने ५/५ जनालाई सम्मान सहित नगद रकम प्रदान गरिएको थियो । अन्य बचतकर्ता तथा ऋणी सदस्यहरुले पाएका संरक्षित पूजी कोषको फिर्ता रकम सम्बन्धित सदस्यहरुको खातामा जम्मा गरिदिएको जानकारी गराईएको थियो ।
संरक्षित पूंजी कोष फिर्ता लगायत संस्था र शेयर सदस्यहरुको भूमिका सम्बन्धि सारगर्भित विचारहरु प्रमुख अतिथि र विशेष अतिथिले राखेका थिए। उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई कार्यक्रमकाे सभापति चन्द्रमाया श्रेष्ठले धन्यवाद ज्ञापन गरिन् ।साेही अबसरमा संस्थाको तर्फबाट मानव कल्याण सेवा घरलाई एक थान ईलेक्ट्रिक वाटर डिस्पेन्सर सहयोग गरिएको थियो । साथै उक्त कार्यक्रममा ज्येष्ठ सदस्यहरुद्वारा आनन्दमय भक्तिसंगित समेत प्रस्तुत गरेका थिए ।