आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तरक्रिया गरेको छ ।
नेपाल उद्योग परिसंघ सचिवालयमा बिहिबार आयोजित “परिसंघमा परिचर्चा” अन्तरक्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन आग्रह गरे ।
भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान संचालन भईरहेकोमा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान संचालन भईरहेको छ । मेक इन नेपाल अभियानमा आवद्ध उत्पादनहरुलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रालय उद्योगीहरुको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिए । त्यसले उद्योगहरुको महत्व बढाउने र उद्योगीहरुको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने पेक्षा गरिएको छ । नीतिगत स्थिरतामा कायम गरि निश्चित अवधिसम्म नीति परिवर्तन नहुने व्यवस्था गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने उनको जोड थियो ।
उद्योग सचिव डा. तोय नारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध हुने सदस्यहरुलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताए । औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीहरुलाई सहजिकरण गर्ने मन्त्रालय रहेको र उद्योगीहरुको समस्या समाधानमा प्रतिवद्ध रहेको जनाए । उहाँले आगामी कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी दिए ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउँदै आएको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरुत्साहित गर्नुपर्ने बताए ।
यस वर्षको उद्योग दिवसको नारा “औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार” रहेको छ ।