आइतबार, कार्तिक ९ गते २०८३

सहयोगी बहुउद्देश्यीयको २६औं साधारणसभामा २३ ज्येष्ठ सदस्यलाई सम्मान

कार्तिक २२, २०७९ मंगलबार
सहयोगी बहुउद्देश्यीयको २६औं साधारणसभामा २३ ज्येष्ठ सदस्यलाई सम्मान

 

सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौड्यालको प्रमुख आतिथ्यता एवं संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न गरेको हो । 

सभामा कार्यवाह अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा नीति, विधि र पद्धतिमा बसेर संस्थालाई जोगाउँदै सदस्यहरुको हितको लागि काम गर्ने बताइन् । विश्वभर नै आर्थिक मन्दी देखिएकाले त्यसको प्रभाव नेपालमा पनि परेको बताउँदै उनले आफुहरुले पनि तरलता व्यवस्थापनमा निकै मेहनत गर्नु परेको र अहिले त्यसको व्यस्थापन सहज हुँदै गएको औंल्याइन । संस्थाभित्र केहि असहज परिस्थिति सिर्जना भएको भएपनि व्यवस्थापनमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यवाद दिइन् । 

sahayogi 12.jpg

सभामा बोल्दै संस्थाका सचिव ईं. आशिष श्रेष्ठले वार्षिक कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २६औं साधारणसभा सम्म आइपुग्दा संस्थामा ३ हजार ५ सय ५१ सदस्य पुगेको जानकारी दिए । आर्थिक वर्ष २०७८।७९ को अन्त्यसम्म संस्थामा शेयरपुँजी ९ करोड ३१ लाख ६३ हजार, बचत संकलन ६८ करोड ३१ लाख ४९ हजार, कर्जा लगानी ७३ करोड २९ लाख ८ हजार पुगेको जानकारी दिए । संस्थाले गत आर्थिक वर्षमा १३ जना मृतक सदस्यका परिवारलाई १ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको उनले जनाए । त्यसैगरी साँस्कृतिक उत्थानका लागि विभिन्न बाजा खलः लाई सहयोग गर्दै आएको र सदस्यहरुलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क मुटु रोग परिक्षण एवं नेपाल रेडक्रस सोसाइटी लुभुसँगको सहकार्यमा आँखा शिविर जस्ता कार्यक्रम गरिएको जानकारी दिए । सदस्यहरुलाई कारोबारका बारेमा सहज जानकारी दिने उद्देश्यले छिट्टै मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । 

सभामा ई. सर्वेशलाल श्रेष्ठले आ.व. २०७८।७९ को आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले घरजग्गा, आवास, व्यापारव्यवसाय, हायरपर्चेज, सामाजिक, शैक्षिक, लघुवित्त, शेयर, ऋण र कर्मचारी कल्याणकोष ऋण जस्ता शीर्षकमा ऋण लगानी गर्दै आएको छ भने सदस्यबाट साधारण, नियमित, दैनिक, संयुक्त, विशेष, आवधिक र संस्थागत शीर्षकमा बचत संकलन गर्दै आएको छ । 

sahayogi 13.jpg

सभामा २३ जना ज्येष्ठ सदस्यलाई दोसल्ला तथा नगदद्वारा सम्मान गरिएको थियो भने, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीमध्ये अभि आचार्यलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सोही अवसरमा संस्थाकै व्यवस्थापनमा सञ्चालनमा रहेको वेष्टर्न विंग सेकेण्डरी स्कुलबाट एसईई दिएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।