बीमा समिति औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा परिणत भएको छ ।
नेपालको संविधान बमोजिम सङ्घीय संसदबाट बनेको बीमा ऐन, २०७९ आज कात्तिक २२ गतेदेखि लागू भएसँगै बीमा समिति नेपाल बीमा प्राविधिकरणमा परिणत भएको हो । यसअघि, नेपालको बीमा नियमनकारी निकासका रुपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरु आजदेखि नेपाल बीमा प्राधिकरणबाट हुनेछन् ।
नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रुपमा समेत कार्य गर्ने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । नेपाल बीमा प्राधिकरणलाई ऐनले थप अधिकार दिनुका साथै स्वायत्त बनाएको छ । बीमा कम्पनीहरुको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बीमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गर्शन र आदेश जारी गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरु प्राधिकरणमा निहित रहने छ ।