शनिबार, आश्विन १७ गते २०८३

निर्जीवन बीमा क्षेत्रबाट ३ करोड ७३ लाख सहयोग भोटेकोशी पीडितलाई


भाद्र १८, २०८३ बिहीबार
निर्जीवन बीमा क्षेत्रबाट ३ करोड ७३ लाख सहयोग भोटेकोशी पीडितलाई

 

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ र आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्। 

संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भदौ १७ गते उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

यसै अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको छ। यससँगै तत्कालीन हस्तान्तरणबाट बीमा क्षेत्रको कुल सहयोग ३ करोड ७३ लाख २३ हजार १८ रुपैयाँ पुगेको छ।

सहयोग गर्ने संस्थामा नेपाल निर्जीवन बीमा व्यवसायी संघसहित सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, नेको, प्रभु, युनाइटेड अजोड, सानिमा जीआईसी र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्। एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढीपीडितका लागि सहयोग गरिसकेका छन्।

संघले बाढीबाट क्षतिग्रस्त आयोजना तथा पूर्वाधारको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखी शीघ्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। अर्थमन्त्री वाग्लेले संकटका बेला बीमा क्षेत्रले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।