शनिबार, आश्विन १७ गते २०८३

भोटेकोशी बाढीपछि बीमा दाबी २१ अर्ब नजिक


आश्विन १३, २०८३ मंगलबार
भोटेकोशी बाढीपछि बीमा दाबी २१ अर्ब नजिक

 

काठमाडौं । गएकाे भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब रु. २१ अर्बको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीमा २ हजार १८० वटा दाबी परेका छन्। बाढीबाट जलविद्युत् आयोजना, पूर्वाधार, सवारीसाधन, उद्योग तथा व्यापारिक सम्पत्तिमा क्षति पुगेपछि ठूलो रकमको बीमा दाबी परेको हो।

दाबीको ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत परेको छ। प्रारम्भिक विवरणमा यही शीर्षकमा मात्रै करिब रु. २० अर्बभन्दा बढीको दाबी देखिएको थियो। त्यस्तै सम्पत्ति तथा मोटर बीमामा पनि ठूलो संख्यामा दाबी परेको प्राधिकरणको विवरण छ। यद्यपि बीमितले दाबी गरेको रकम र कम्पनीले सर्भे तथा मूल्यांकनपछि स्वीकार गर्ने रकम फरक हुन सक्ने भएकाले हालको दाबी रकमलाई अन्तिम भुक्तानी दायित्व मान्न सकिँदैन।

बाढीबाट क्षतिग्रस्त आयोजना तथा सम्पत्तिको मूल्यांकन र कागजात परीक्षणको काम भइरहेकाले दाबी फर्छ्योटमा समय लाग्ने देखिएको छ। बीमा कम्पनीहरूले क्षतिको सर्भे, पुनर्बीमा प्रक्रिया र बीमालेखका सर्तअनुसार भुक्तानी अघि बढाउनेछन्। नेपाल बीमा प्राधिकरणले प्रभावित बीमितलाई राहत दिन पूर्ण क्षति भएका सम्पत्ति तथा सवारीमा निश्चित सीमासम्म अग्रिम भुक्तानी गर्न सकिने व्यवस्थासमेत गरेको छ। यससँगै बाढीले जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा सिर्जना गरेको बीमा जोखिम र दाबी व्यवस्थापनको चुनौती पनि सतहमा आएको छ।