शनिबार, आश्विन १७ गते २०८३

प्राधिकरणले विद्युत वितरण पूर्वाधार सुदृढ बनाउने

कार्तिक १४, २०७९ सोमबार
प्राधिकरणले विद्युत वितरण पूर्वाधार सुदृढ बनाउने

रमेश कुमार उदास

नेपाल विद्युत प्राधिकरणले विद्युत प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको हो । 

प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लामा विद्युत खपत वृद्धिको सम्भावना रहेकोले त्यसलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउनेछ। त्यस्तै भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको एक टोलीले विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन गरेको छ । टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न खोजिएको बताए । 

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढी स्थिति ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो ।