चन्द्रागिरी नगरपालिकाको वडा नं ३ मा अवस्थित परिश्रमी वचत तथा ऋण सहकारी संस्था र सोहि ठेगाना भएको श्री थानकोट महालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबीच समीकरणको प्रक्रिया सम्पन्न भएको छ ।
विगत १ वर्षदेखि निरन्तर रुपमा अगाडि वढ्दै गइरहेको प्रक्रियाले अन्तिम रुप लिएको हो । दुवै संस्थाको कार्यक्षेत्र, ठेगाना र प्रकृति समेत एकै भएका कारण समिकरणमा अलि सजिलो भएको परिश्रमी सहकारीका अध्यक्ष कृष्ण प्रसाद खड्गीले बताए । त्यस्तै महालक्ष्मी सहकारीका अध्यक्ष निर्मला श्रेष्ठ रहेकी छिन् । हाल संस्थाको कार्यक्षेत्र चन्द्रागिरी नगरपालिका भित्र मात्र रहेको छ ।
झण्डै ४५ करोडको वासलात भएको परिश्रमी वचत तथा ऋण सहकारी संस्थामा २ करोड सम्पत्ति भएको थानकोट महालक्ष्मी सहकारी समिकरण भएपश्चात अनुमानित पचास करोडको व्यालेन्ससिट पुग्ने परिश्रमी सहकारी संस्थाका व्यवस्थापक मोहन डाँगीले जानकारी दिए । समिकरणपश्चात् संस्थाका सदस्य संख्या पनि १८०० पुग्नेछ भने संस्थाको शेयर पुँजी ३ करोड पचास लाखको हाराहारी पुग्ने उनले जनाए ।
स्थानीय तहमा सहकारीका नीतिनियमहरु बन्न ढिलाइ भइरहेकोले कानुनी बाधाहरु धेरै नै भोग्नु पर्दा समिकरणमा धेरै नै ढिलाइ भएको उनले उल्लेख गरे । सबै प्रकृयाहरु सम्पन्न भएपश्चात् २०७८ साल श्रावणबाट सबै कारोबार परिश्रमी सहकारी संस्थाकै कार्यालयबाट हुने व्यवस्थापक डाँगीको भनाइ छ ।