आइतबार, कार्तिक ९ गते २०८३

अभिवादन बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, आगामी वर्षबाट सामाजिक व्यक्तित्वलाइ अभिवादन सहकारी पुरस्कार दिइने

कार्तिक ५, २०७९ शनिबार
अभिवादन बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, आगामी वर्षबाट सामाजिक व्यक्तित्वलाइ अभिवादन सहकारी पुरस्कार दिइने

 

अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ज्येष्ठ सदस्य जीतलाल महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुमा रहेको ससानो पुँजीलाई संकलन गरी उनीहरुकै माझ आयमूलक तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा सहयोग पु¥याउने उद्देश्यले २०७२ सालमा संस्था स्थापना भएको बताए । ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरुमा नियमति बचत गर्ने बानीको विकास गरी सुरक्षित भविष्य निर्माणका लागि भूमिका खेलेको महर्जनले जनाए । संस्थाको विकास र प्रवर्धन लागि संस्थागत सुशासनलाई अपरिहार्य ठानी संस्था सञ्चालनमा प्रभावकारिता ल्याउन विभिन्न नीति तथा आन्तरिक कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए । 

संस्थाले सदस्यहरुको एक लाख रुपैया बराबरको दुर्घटना बीमाको व्यवस्था गरेकाले उक्त बीमा योजनामा सबै सदस्यलाई सहभागि हुन उनले आग्रह गरे । गत आर्थिक वर्षमा ६ जना सदस्यले दुर्घटना बीमा वापतको सुविधा पाएको बताउँदै उनले अस्पतालमा भर्ना भएर उपचार गर्नुपरेमा ५ दिनको १५ सय बेड चार्ज समेत उपलब्ध गराउने जानकारी दिए । संस्थाले महिला उद्यमशीलता विकास गर्नका लागि ३ महिनासम्म कुनै पनि सेवा शुल्क नलिइ एक पटकमा १० जनासम्मलाई ४० हजारका दरले ऋण उपलब्ध गराउँदै आएको र यसले महिलाहरुलाई उद्यमशीतलामा लाग्न प्रेरित गरेको उनको भनाई छ । वर्षमा ४० जना महिलालाई उद्यमशील कर्जाबाट संस्थाले ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्चबापत २ हजार रुपैया बराबरको सुत्केरी पोषण उपलब्ध गराउने गरेको अध्यक्ष महर्जनले जनाए । 

avibadan 2.jpg

ज्येष्ठ सदस्यका छोराछोरी विदेश गएकाले उनीहरुमा एक्लो पनको महशुस नहोस् र केहि मात्रामा भएपनि खुशी ल्याउने उद्देश्यका साथ संस्थाले तीर्थाटन कार्यक्रम गर्दै आएको उनले बताए । सदस्यको मृत्यु भएको खण्डमा काजकिरिया खर्च वापत मृतकका आश्रित परिवारलाई १० हजार रुपैया राहत संस्थाले उपलब्ध गराउँदै आएको छ । 

संस्थाले नेपाल क्यान्सर अस्पतालसँग सहकार्य गरेर सदस्यहरुको स्वास्थ्य जाँच र उपचारमा ३५ देखि ५० प्रतिशत छुट पाउने व्यवस्था मिलाउन लागेकाे उनले बताए।महर्जनले समयसमयमा अस्पतालमा गएर स्वास्थ्य जाँच गरे क्यान्सर जस्तो प्राणघातक रोगबाट समेत बच्न सकिने समेत उल्लेख गरे । १० हजार भन्दा न्यून शेयर भएका सदस्यलाई न्यूनतम १० हजार शेयर पुर्‍याउन आग्रह गर्दै प्रत्येक सदस्यलाई मासिक बचतमा सहभागि हुन उनले आग्रह गरे । सके मासिक रुपमा ५०० देखि १००० नसके सयपचास भएपनि बचत गर्दै जाँदा संस्थामा पुँजी निर्माण हुने र सदस्यहरुले सहुलियत ब्याजदरमा ऋण पाउनुका साथै भविष्यमा आइपर्ने खरखाँचो टार्न समेत सघाउ पुग्ने उनको भनाई छ ।

संस्थामा १७०० सदस्य आवद्ध रहेको र मासिक रुपमा ससानो पुँजी जम्मा गर्दा पनि पन्ध्रबीस लाख हुने भन्दै उनले भोलिका दिनमा संस्थामा बचत बढ्न गई सरकारले तोकेको भन्दा पनि सस्तो ब्याजदरमा ऋण पाउन सक्ने जनाए । संस्थाले आगामी वर्षदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाइ अभिवादन सहकारी पुरस्कारबाट सम्मान गर्ने भएको छ । 

बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही संस्था शिक्षा, स्वास्थ्य, खेलकूद, युवा, सामाजिक संघसंस्था र स्थानीय सरकारसँग समेत सहकार्य गरेर समुदायको उन्नतिको लागि निरन्तर क्रियाशील रहेको उनको भनाई छ । कलासँस्कृतिको जगेर्ना अभिवादनको अभिभारा भन्ने नारा अघि सारेको र सोही अनुरुप हरेक वर्ष सिद्धिपुर, ठैव र हरिसिद्धिका बाजागाजा खलः को जगेर्ना र प्रवर्धन गर्न पालैपालो बाद्यवादनका सामग्री प्रदान गर्दै जाने उनले बताए । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङ तथा ईसेवा, रेमिटान्स जस्ता सुविधा प्रदान गर्दै आएको छ । 

सभामा संस्थाका कोषाध्यक्ष सुदन महर्जनले आ.व. २०७८।०७९ को आर्थिक प्रतिवेदन तथा चालु आ.व.को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वित्तीय पहुँच नपुगेका वर्ग र समुदायलाई जोडेर संस्थाले उद्यमशील बनाउनुका साथै आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत सहयोग पुर्‍याएको उनले बताए । गत आ.व.को असार मसान्तसम्म १५८६ शेयर सदस्य, २ करोड ६६ लाख ९२ हजार शेयरपुँजी २० करोड ५० लाख २० हजार बचत संकलन र २३ करोड १८ लाख ४१ हजार ऋण लगानी गरी ७७ लाख १७ हजार कुल बचत गर्न सकेको उनले जानकारी दिए । 

लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक कविता महर्जनले आ.व. २०७८।७९ को समितिको प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय कर्जा असुली र तरलता व्यवस्थापन चुनौतिपूर्ण भएकाले सुरक्षित लगानी र कर्जा भुक्तानी तालिका कार्यक्रम अनुसार असुली कार्यमा ध्यान दिन सुझाव दिइन् । संस्थाको रणनीतिक व्यवसायिक योजना प्राप्तिका लागि अर्धवार्षिक समिक्षा गर्न र संस्थाका सञ्चालक, कर्मचारी र विभिन्न उपसमितिलाई समयसमयमा शिक्षा तथा तालिम उपलब्ध गराउन एवं शेयरपुँजी र बचत निक्षेप पर्ल्स अनुपातमा वृद्धि गर्न उनले सुझाइन् । 

सभामा आवधिक बचतकर्तालाई प्रशंशापत्र र नगदले सम्मान गर्नुका साथै स्थानीय बाजा खलः लाई बाद्यवादनका सामग्री प्रदान गरिएको थियो । सभाको सञ्चालन सचिव महेन्द्रकुमार महर्जनले गरेका थिए । सभामा संस्थाका कानुनी सल्लाहकार रमिता महर्जन, सल्लाहकार तेजप्रसाद बजगाईं र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।