वस्तु आयात र निर्यात दुवै खुम्चिँदा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आयातमा १३.० प्रतिशतले, निर्यातमा ३४.९ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
दुई महिनाको अवधिमा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ११५.४ प्रतिशतले वृद्धि भएको थियो । भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात भने १३.२ प्रतिशतले वद्धि भएको छ ।
यस अवधिमा जिंक शिट, ऊनी गलंैचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यातमा गिरावट आएको छ ।
त्यसैगरी आयात १३.० प्रतिशतले कमी आई रु.२७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा गरेको कडाइसँगै आयात खुम्चिन पुगेको हो । आयात गरिने मुलुक आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले
कमी आएको छ ।
यद्यपि पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन
तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात भने घटेको छ ।
समीक्षा अवधिमा अवधिमा निर्यात– आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।