शनिबार, आश्विन १७ गते २०८३

निर्वाचनले बजारमा तरलता सहज बनाउनेमा आशंका

आश्विन २५, २०७९ मंगलबार
निर्वाचनले बजारमा तरलता सहज बनाउनेमा आशंका

 

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनले वित्त बजारमा रहेको तरलता अभावको समस्या न्यून हुने अपेक्षा गरिएको भएपनि वस्तुगत स्थिति त्यस्तो नभएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले दावी गरेका छन् । 

मुलुकको अर्थतन्त्र सुस्तगतिमा अगाडि बढिरहेको र डेढ वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार देखिइहाल्नेमा उनले आशंक व्यक्त गरे । 

पूर्वगभर्नर नेपालले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको स्वीकार गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनले मात्रै नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको जनाए । 

डेढ वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिएपनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको उनको तर्क छ।

बजारमा ठूलो तरलता अभाव कायम रहेको, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने गरेको, पूरा हुने आयोजनाहरु पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको टिप्पणी गरेका हुन्।

बजारको तरलता अभावसमेत तत्कालै समाधान हुने छाँटकाँट नदेखिएको उनले जनाए । 

ुपूर्वगभर्नर नेपालले बैंकहरुमा संकलन भएको निक्षेप संस्था,व्यक्तिहरुले दलगत उम्मेद्वारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निकाल्ने बताए। उनले बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने विश्लेषण गरे। 

राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुको सिडी रेसियोमा केही लचकता अपनाउनुपर्ने सुझाव दिए। 

उनले उद्योग व्यवसाय पनि चलायमान र आर्थिक गतिविधि पनि बन्द नहुने गरी उत्पादनमुलक क्षेत्रमा आवश्यक पर्ने ऋण लगानी गर्ने वातावरण राष्ट्र बैंकले मिलाउनुपर्ने बताए।