आइतबार, कार्तिक ९ गते २०८३

 ‘जनसचेतन सहकारी अभियन्ता’ पुरस्कारबाट उप्रेती सम्मानित

आश्विन २४, २०७९ सोमबार
 ‘जनसचेतन सहकारी अभियन्ता’ पुरस्कारबाट  उप्रेती  सम्मानित

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक केबी उप्रेती सम्मानित भएका छन् । दोलखामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले  उप्रेतीलाई  ‘जनसचेतन सहकारी अभियन्ता’ पुरस्कारबाट  सम्मानित  गरेको हो । संस्थाको ३० औं स्थापना दिवसको अवसरमा  आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घरानीले उप्रेतीलाई पुरस्कार प्रदान गरे । नेपालको सहकारी अभियानको प्रवद्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रिय व्यक्तिलाई प्रदान गर्ने पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । 

संस्थाको रजत जयन्तीको अवरमा २०७४ सालमा पुरस्कार स्थापना गरिएको हो । यस पुरस्कारबाट यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्षद्धय केशव प्रसाद बडाल र दीपक प्रकाश बास्कोटा सम्मानित भइसकेका छन् ।  
स्थापना दिवस कार्यक्रममा बोल्दै प्रमुख घतानीले सहकारीले वचत र ऋणको कारोबारसंगै उत्पादनमा लाग्न सुझाव दिए ।   विपन्न वर्गको जीवनस्तर रुपान्तरण गर्न सकेमात्र सहकारीको उद्देश्य पुरा हुने भन्दै सहकारीले उद्योग र वजारीकरणका नयाँ विधामा कामको थालनी गर्नुपर्ने बताए ।  अध्यक्ष उप्रेतीले दोलखालाई सहकारीको नमूना जिल्ला बनाउन जनसचेतनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । बैत्यश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले सहकारी र सरकारको लक्ष्य एउटै भएको भन्दै दुबैबीच हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक जीवसराज खड्काले वित्तीय परिचालनसँगै सुशासन र व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । संस्थाले संस्थाका सल्लाहकार समेत रहनु भएका स्वर्गीय पशुपति चौलागाईको परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । जनसचेतन पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी निर्मला शिवाकोटी (विनिता) ,  वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट पुरुषतर्फ सुचना तथा प्रविधि अधिकृत रमेश लामिछाने र महिला तर्फ कालिञ्चोक गाउँपालिका बाबरे सेवा केन्द्रकी लक्ष्मी थापा सम्मानित भएका छन् । 

जनसचेतनका १६ सेवा केन्द्रमध्ये मिर्गे सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्रको रुपमा सम्मानित भएको छ । उक्त सेवा केन्द्रमा सबै महिला कर्मचारी रहेका छन् । संस्थाले स्थापना दिवसको अवसर पारेर सामुदायिक विद्यालयको तर्फबाट ३.८० जिपिए ल्याएर उत्कृष्ठ स्थान हासिल गर्ने हनुमन्तेश्वर माध्यमिक विद्यालयका आदेश दहाल र छात्रा तर्फ ३.७५ जिपिए ल्याएर उत्कृष्ठ अंक ल्याउन सफल सोही विद्यालयकी पूर्णिमा मिजारलाई सम्मान गरेको छ । 

310993620_5734773699908134_5818520761395726865_n.jpg

दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले दोलखासंगै काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौ जिल्लाभर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्लामा सेवा क्षेत्र बिस्तार गरेको छ । सहकारीमा गत आर्थिक वर्षको असार मसान्त सम्म ३६ हजार २ सय ५४ जना सदस्य कुल पुँजी २ अर्व १८ करोड ६९ लाख पुगेको छ ।  संस्थाकम अध्यक्ष हेमन्त कुमार चौलागाईको सभापतित्वमा कार्यक्रम  सम्पन्न भएको थियो । 

311208321_5734774633241374_5427850061103036608_n.jpg