आइतबार, कार्तिक ९ गते २०८३

सामूहिक साकोसको आफ्नै भबनबाट कारोवार सुरु

आश्विन २४, २०७९ सोमबार
सामूहिक साकोसको आफ्नै भबनबाट कारोवार सुरु


सामूहिक साकोस भक्तपुरको २५औं स्थापना दिवस (रजतवर्ष)को सुअवसरमा संस्थाको नयाँ भवनबाट कारोवार शुभारभ्भ भएको छ । भक्तपुर नगरपालिका ३, बोलाछें स्थित संस्थाको नव निर्मित भवनमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेश बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष राजोपाध्यायले खुत्रुकेमा पैसा जम्मा गरेर संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुका साथै संयुक्त रुपमा रजतवर्ष लोगो लोकार्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संस्था स्थापना कालका कठिन यात्राहरुका विषयमा जानकारी गराएका थिए । हजार रुपैयाँबाट शुरु भएको कारोवार २५औं स्थापना सम्म आइपुग्दा ७२ करोडको हाराहारीमा आइपुग्नु गर्वको विषय रहेको  उनले बताए । यो उपलब्धीको लागि संस्थामा आबद्ध सबै सदस्यहरुलाई उनले धन्यबाद दिए ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा रजत वर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्षको उपलक्ष्यमा २०७९ असोज २३ गते देखि आउने २०८० सालमा सम्पन्न हुने २५औं साधारणसभा सम्म विविध कार्यक्रम सहित मनाउने तालिका प्रस्तुत गरेका थिए । साविकका ३ वटा संस्था (साविक सामूहिक साकोस, साविक बुद्ध साकोस र साविक समता साकोस) वीच एकीकरण पश्चात एकीकृत सामूहिक साकोस बनेको हो । सोही सन्दर्भमा साविक बुद्ध साकासको तर्फबाट चन्द्रकुमार तामांगले र साविक समता साकोसको तर्फबाट चन्द्रलाल भोमीले २५औं स्थापना दिवस (रजतवर्ष) सफलताका शुभकामना व्यक्त  गरे ।

लेखा सुपरीवेक्षण समिति नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य सहित ३८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कारोवार शुभारम्भ अन्तर्गत शेयर सदस्यहरुबाट रु. १६,४४,७०० बचत संकलन गरी संस्थामा दाखिला गरेको थियो भने आगामी असोज २९ गते सम्म निःशुल्क सदस्यता वितरण गरिने   रजतवर्ष मूल समारोह उपसमिति संयोजकले जानकारी दिए । उक्त कार्यक्रमको संचालन संस्थाका सचिव कृष्णहरि सैंजुले गरेका थिए ।