काभ्रेको बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल रहेका थिए।
सभामा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्वव्यापी रुपमा देखिएको आर्थिक असहजताको प्रभाव नेपालमा पनि परेको र बैंकले एक्कासी व्याजदर बढाउँदा सहकारी क्षेत्र प्रभावित बनेको जनाए ।
अध्यक्ष दाहालले वार्षिक प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हाल ८ हजार १६१ सेयर सदस्य शेयर पुँजी २३ करोड ५३ लाख, जगेडा कोषमा ८ करोड ६८ लाख, अन्य कोष ४ करोड ५७ लाख, बचत संकलन १ अर्ब ४९ करोड ७८ लाख, ऋण लगानी १ अर्ब ६८ करोड ६४ लाख गरी कुल वासलात २ अर्ब ८ करोड ४० लाख पुगेको जानकारी दिए ।
संस्थाले निकट भविष्यमा एटिएम सेवा सञ्चालनमा ल्याउने तयारीमा रहेको सभामा जानकारी दिइएको थियो ।
साधारणसभा समारोहमार्फत साकोसका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत भएका छन् । सभामा विभिन्न क्षेत्रका २७ जना व्यक्तित्वको आतिथ्यता रहेको थियो ।