शनिबार, आश्विन १७ गते २०८३

आभाष साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, सदस्य सुरक्षा कार्यक्रम विस्तारको योजना

आश्विन २, २०७९ आइतबार
आभाष साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, सदस्य सुरक्षा कार्यक्रम विस्तारको योजना

 

बनेपाको तीनदोबाटोमा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले १३औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको सभापतित्व एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो । 

सभामा अध्यक्ष कायस्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले स्वास्थ्य र समुन्नत समाज अन्तर्गत आभाष सदस्य सुरक्षा कार्यक्रम र लैंगिक समानताका लागि छोरी बचाउ अभियान शुरु गरिएको बताए । 

संस्थाले नव वर्ष र संस्थाको वार्षिक उत्सवको दिन शिर मेमोरियल अस्पताल बनेपामा जन्म लिने पहिलो छोरीलाई आर्थिक सहयोग गर्दै आएको र सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत ४३ जना सदस्यलाई विभिन्न रोगको उपचारका लागि ४ लाख ७५ हजार रुपैया आर्थिक सहायता प्रदान गरिएको जनाए । संस्थाले महिला सशक्तिकरणका लागि पनि काम गर्दै आएको र कार्यक्षेत्रभित्र ४१ वटा महिला समुह गठन गरी उनीहरुलाई सीपमुलक तालिम तथा स्वास्थ्यशिविर आयोजना गरिएको उनले बताए । 

सहकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा र सहकारी शिक्षाको अभावले गर्दा संस्थाकाको सामथ्र्य नभएपनि नियमविपरीत बढि ब्याजमा बचत संकलन गर्ने र अस्वाभाविक व्याजमा ऋण लगानी गर्ने गर्दा वित्तीय जोखिम बढाएको कायष्ठले उल्लेख गरे । 

सभामा संस्थाका सचिव प्रकाश कायस्थले आर्थिक वर्ष २०७८।७९को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले शुरु गरेको सदस्य सुरक्षा कोषमा असारमसान्तसम्म २८४३ जना सदस्यले सहभागिता जनाएको उनले बताए । गत आवमा उक्त कार्यक्रममा आवद्ध सदस्यको कालगतिले मृत्यु भएका ३ जनाको परिवारलाई प्रति सदस्य १० हजार, क्यान्सर पिडित ३ जना सदस्यलाई प्रति सदस्य २५ हजार तथा विभिन्न रोग लागेका ३७ जना सदस्यलाई उपचार गर्न प्रति सदस्य १० हजार सहयोग गरेको उनले जानकारी दिए ।

सभामा उनले संस्थाको छोरी अभियान अन्तर्गत यो वर्ष २ जना सदस्यलाई २० हजार सहयोग गरेको पनि बताए । उनले सदस्यहरुलाई सहकारी शिक्षा तालिमलगायतको कार्य गर्दै आएको जानकारी गराए ।

त्यसैगरी सभामा संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक प्रतिवेदन तथा २०७९।८० को कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । 

गत आ.व.मा संस्थाले ३ करोड ७० लाख ९८ हजार शेयर पूँजी,  ५८ करोड ५ लाख रुपैयाँ बचत संकलन गरी ५६ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरी ७७ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा गरेको सभालाई प्रधानले जानकारी दिए । उनले उक्त आर्थिक वर्षमा ७१ करोड ६४ लाख १२ हजार रुपैयाँको कुल कारोबार गरेको जनाए ।

संस्थाको जगेडा कोषमा १ करोड ९१ लाख रुपैयाँ रहेको जनाइएको छ । ५ हजार ८ सय ३२ सदस्य रहेको संस्थाको पनौति र भकुण्डेमा सेवाकेन्द्र रहेका छन्।

संस्थाले एबिबिएस, तथा एसएमएस अलर्ट र रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ । साधारण सभाले सदस्यका छोरा छोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीलाई समेत सम्मान गरेको छ ।

संस्थाले यस आ.व. मा थप १० वटा महिला समुह गठन गर्ने  सुत्केरी भेटघाट कार्यक्रमलाई सदस्य सुरक्षा कार्यक्रममा समावेश गर्न अध्ययन गर्ने । सुरक्षा कार्यक्रमको सुविधा वृद्धि गर्न अध्ययन गर्ने, संस्थामा आवद्ध नयाँ सदस्यहरुलाई सदस्य शिक्षा दिने, कृषि, पशुपालन, कुकिङ लगायत विभिन्न व्यवसायिक तालिम प्रदान गर्ने योजना बनाएको छ ।