भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै अध्यक्ष खड्काले संस्थाले सदस्यहरुको आवश्यकता र माग अनुरुप विभिन्न किसिमका बचत तथा ऋणका योजनाहरु अघि सारेको बताए । समयानुकूल बचत तथा ऋणको ब्याजदरमा पुनरावलोकन गरी सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको समेत उनले सो अवसरमा जानकारी दिए ।
संस्थाका सचिव मीठाराम न्यौपानेले आर्थिक वर्ष २०७८।७९ मा संस्थाले गरेका वार्षिक गतिविधि सभामा प्रस्तुत गरेका थिए । संस्थाले कार्यक्षेत्र भित्रका विभिन्न मठमन्दिरको सरसफाई सदस्यहरुलाई तीर्थाटन तथा बाल क्लब गठन, वित्तीय साक्षरता कार्यक्रम तथा नेतृत्व अभिमुखीकरण जस्ता कार्यक्रम गरेको उनले जानकारी दिए । संस्थाले युवाहरुलाई लक्षित गरी वित्तीय शिक्षा, उद्यमशीलता विकास र उत्पादित वस्तुको बजारीकरण जस्ता कार्यक्रम समेत आयोजना गरेको थियो ।
संस्थाले सदस्यहरुलाई नवीनतम प्रविधिमा जोड्ने उद्देश्यले क्यूआर कोड, मोबाइल बैंकिङ र एमसएमस बैंकिङ सेवा समेत सञ्चालनमा ल्याएको छ । कार्यक्षेत्र मिल्ने र एकै उद्देश्यका संस्थाहरुबीच एकिकरण अभियान अघि बढाउने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
संस्थाका कोषाध्यक्ष सालिकराम घिमिरे आ. व. २०७८।७९ को आर्थिक प्रतिवेदन र चा.लु. आवको अनुमानित वार्षिक बजेट सभामा प्रस्तुत गरेका थिए । सभाले गत आर्थिक मसान्त सम्म ५ करोड २४ लाख शेयरपुँजी, ५५ करोड ७३ लाख बचत संकलन गरी ५७ करोड ८६ लाख ऋण लगानी गरेको छ । संस्थाको विभिन्न कोषहरु ७ करोड ६८ लाख रकम जम्मा भएको छ । संस्थामा ४ हजार २७७ सदस्य आवद्ध रहेका छन् ।
संस्थाले हालको अवस्थालाई मध्यनजर गरी २० प्रतिशतभन्दा माथि तरलता कायम गरेको समेत जनाएको छ । संस्थाले सदस्यहरुबाट नियमित, नाबालक, साधारण, आवधिक, दैनिक, खुत्रुके, पेन्सन, ज्येष्ठ सदस्य, लघुवित्त समुह, कोपिला जस्ता विभिन्न बचत योजना ल्याई सदस्यहरुबाट निमयति तथा मासिक बचत संकलन गरिरहेको छ । त्यसैगरी घरजग्गा, सामाजिक, शैक्षिक, आयमुलक, लघुवित्त, व्यवसायिक, वैदेशिक, कृषि तथा पशुपालन, हायरपर्चेज जस्ता क्षेत्रमा ऋण प्रवाह गर्दै आएको छ ।
सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता र ज्येष्ठ सदस्यलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।
नयाँ कार्यसमिति चयन
सभाले प्रमोद घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । आगामी ४ वर्षे कार्यकालका लागि उपाध्यक्षमा मिठाराम न्यौपाने, सचिवमा दिपक कुमार न्यौपाने र कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका छन् भने सञ्चालक समिति सदस्यहरुमा श्रीराम न्यौपाने, तीर्थराज चौलागाईं, सन्तोष कार्की, अम्बिका चौलागाईं घिमिरे, प्रकाश न्यौपाने, रमिला खत्री खड्का र बिना गिरि रहेका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा शालिकराम घिमिरे र सदस्यहरुमा सञ्जय मिश्र र शरद रिसाल चयन भएको संस्थाले जनाएको छ ।
