आइतबार, कार्तिक ९ गते २०८३

हाम्रो साकोसद्वारा १०७ जनालाई शैक्षिक सम्मान प्रदान

आश्विन २, २०७९ आइतबार
हाम्रो साकोसद्वारा १०७ जनालाई शैक्षिक सम्मान प्रदान

 

हाम्रो बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा १०७ जना विद्यालय तह देखि एमफिल सम्म तथा इञ्जिनियरिङ, एम डि लगायतका विषयमा शैक्षिक उपाधि प्राप्त गरेका शेयर सदस्य तथा सदस्यका छोरा छोरी सम्मानित भएका छन् । सबै तहमा उत्कृष्ट अंक हासिल गर्ने सदस्यका छोराछोरीलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएकाे हाे । 

सोही अवसरमा संस्थाका ६८ वर्ष माथिका जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा संस्थाको वर्तमान अवस्था र कार्ययोजना प्रमुख कार्यकारी अधिकृतले र वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईंले गरेका थिए । 

कार्यक्रममा ललितपुर बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित अध्यक्ष रामहरि बजगाइँलाई सम्मान गरियो  । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघका अध्यक्ष एवम संस्थाकम सल्लाहकार रामशरण शर्मा घिमिरेले हाम्रो साकोसले ललितपुर जिल्लामा धेरै सहकारी संस्था संगको संस्थागत सम्बन्ध र अभियानका गरेको योगदान र सुशासनका बारेमा अन्य संस्थालाई समेत प्रेरित गरेको बताए । 

संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयाँलले सस्तो लोकप्रियता भन्दा सुशासन र संस्थागत दिगोपनमा ध्यान दिन र यसका लागि सदस्यलाई संस्थामा नियमित उपस्थित भई सुझाव दिन अनुरोध गरेका थिए ।