जनसेवा बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा संस्थाको शेयर पुँजी ३ करोड, बचत संकलन २३ करोड, ऋण प्रवाह २४ करोड र संस्थाको जगेडा कोष १ करोड ८५ लाख रहेको जानकारी दिइयो । १ हजार ९६४ जना शेयर सदस्य रहेको जनसेवा साकोसले कार्यक्षेत्र भित्रका ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सेवा दिइरहेको जनाएको छ । संस्थाको वासलात २९ करोड ६० लाख रहेको छ ।
२०५० भाद्र २१ गते कास्की जिल्लामा दोश्रो सहकारी संस्थाको रुपमा दर्ता भएको जनसेवा साकोसले ६८ जना सेयर सदस्यहरुबाट ६ हजार ८ सय रुपैंया पुँजी संकलन गरी वित्तीय सेवाको सुरुवात गरेको थियो ।
नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा सहभागि रहेको छ । मुख्यबजार बाट १६ किलोमिटर पर ग्रामिण क्षेत्रमा संस्थाको कार्यालय रहेकोमा संथाले गत साधारणसभाबाट कार्यक्षेत्र विस्तार गरी मुख्य पोखरा बजारका सदस्यहरुलाई सेवा दिने उद्देश्यले हाल बगर–१ पोखरामा सेवा केन्द्रको स्वीकृती लिई सञ्चालनको आवश्यक तयारी गरिरहेको छ । दशैंको घटस्थापनाका दिनदेखि उक्त सेवाकेन्द्र मार्फत कारोवार सुरु गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ ।
गत आर्थिक वर्ष ०७८।०७९ को मुनाफा बाट १२ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा ३ दशमलव ७२ र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ४ दशमलव ५२ प्रतिशतको दरले सदस्यलाई लाभांश पारित गरेको छ ।
३० औं साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक कमला देवी गिरीले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तिय संस्थाको पहुँचबाट टाडा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र सुरक्षित तवरबाट सञ्चालन भएको विचार राखेकी थिइन् । संस्थाका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको सभाको सञ्चालन सचिव दान बहादुर भुजेलले गरेका थिए ।
सभामा जेष्ठ सदस्य, पूर्व अध्यक्षहरु मध्येबाट ७० बर्ष उमेर पुरा भएका, एसईईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट सुझावकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ता, सर्बोत्कृष्ट सदस्य र उत्कृष्ट शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई संस्थाले पुरस्कार स्वरुप संस्थाको शेयर प्रदान गरेको थियो ।
चालु आर्थिक वर्षमा माछापुछ्रे गाउँपालिकामा कार्य क्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालन गर्ने तयारी संस्थाको रहेको छ । त्यसैगरी संस्थाले कृषकसँग जनसेवा, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, ३० बर्ष भन्दा कम उमेर समुहका सदस्य विस्तारमा जोड दिने, व्यावसायिक कृषि, पशुपालन र मासु जन्य उत्पादनका लागि ऋण लगानीमा ब्याजदरमा विशेष छुट दिने, लघु ऋणको विमा गर्ने जस्ता योजना बनाएको छ ।