बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। बेलायतकी महारानीको रुपमा उनी ७० वर्षसम्म गद्दीनसीन रहिन्।
बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।
सन् १९२६ अप्रिल २१ मा जन्मिएकी महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।
उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि रहनेछन्।
राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेः 'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन् ।'
आफ्नो शासनकालमा महारानी एलिजाबेथ द्वितीय ले बेलायतले दोस्रो विश्वयुद्ध, साम्राज्यको राष्ट्रमण्डलमा रूपान्तरण, शीतयुद्धको अन्त्य र बेलायतमा सामेल भई युरोपियन युनियनबाट बाहिरिने लगायतका उथलपुथलको साक्षी बनिन् ।
उनको कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री रहे। उनी गद्दीमा आउँदा विन्स्टन चर्चिल, प्रधानमन्त्री थिए भने केहि दिन अघिमात्र लिज ट्रसलाई प्रधानमन्त्रीको रुपमा उनले शपथ गराइकी थिइन्। रानीले हरेक हप्ता प्रधानमन्त्रीलाई भेट्ने गर्थिन ।