बुधबार, भाद्र ३ गते २०८३

भाग्ने र नभाग्ने सहकारी सदस्यले आफैं छुट्याउन सक्छन्ः लाखाजु

भाद्र २०, २०७९ सोमबार
भाग्ने र नभाग्ने सहकारी सदस्यले आफैं छुट्याउन सक्छन्ः लाखाजु

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले भक्तपुरमा सञ्चालित सहकारी संस्थाहरुमा अहिलेसम्म कुनै समस्या नआएको बताएका छन् । जिल्ला बाहिर मुख्य कार्यालय रहेका र सेवाकेन्द्र खोलेका एकाध सहकारीमा समस्या आएको भएपनि भक्तपुरमा नै प्रधान कार्यालय रहेका सहकारीमा अहिलेसम्म समस्या नदेखिएको उनले जनाए । 

जनता साकोसको १४ औं वार्षिक साधारणसभामा बोल्दै उनले समुदायमा आधारित नभएका संस्थाहरुमा समस्या आएको भन्दै उनले स्थानीय व्यक्तिहरुले चलाएको संस्थामा कुनै समस्या नरहेको प्रष्ट पारे । ‘स्थानीय व्यक्तिको घरजग्गा यहिँ भएकाले भागेर कहिँ जाँदैनन्,’ उनले थपे ‘तर बजारमा खुलेका कतिपय संस्थाका सञ्चालक कहाँबाट आए, अध्यक्ष र सञ्चालक को को छन् कसैलाई थाहा छैन, त्यस्ता संस्था बढि समस्यामा परेका छन् ।’

‘सदस्यको बचत लिएर भाग्ने संस्थाले साधारणसभामा बोलाएर सदस्यसँग अन्तरक्रिया गर्दैनन्, सदस्यहरुबाट लिएको पैसा घरजग्गा र अनुत्पादक क्षेत्रमा लगानी गर्छन् । पैसा आउञ्जेल बचतमा पनि राम्रै ब्याज दिन्छन् र बचत पनि फिर्ता दिन्छन् तर आउन छाडेपछि केहि पनि दिँदैनन् । अहिले भएको यहि हो, ’ उनले थपे । सदस्यहरुलाई भाग्ने र नभाग्ने संस्था छुट्याउन उनले सुझाए । जुन संस्थामा सदस्यहरुको बचत अध्यक्ष र सञ्चालकले चलाउँदैनन्, ऐननियम अनुसार सञ्चालन भएका हुन्छन्, नियमित लेखापरिक्षण गरी वार्षिक साधारणसभा गर्छन्, त्यस्ता संस्था नभाग्ने उनले बताए । संस्थाको पैसा आफुखुसी चलाउने र ऐननियम अनुसार नचल्ने, लेखापरीक्षण प्रतिवेदन प्रकाशित नगर्ने, सदस्यलाई नबाँड्ने र साधारणसभामा नबोलाउन सहकारीहरु नाममात्रका सहकारी भएकाले चनाखो हुन उनले सदस्यहरुलाई अपील गरे । 

शेयरपुँजी, जगेडा कोष र नियमित बचत नगर्ने संस्थाहरुमा कारोबार गर्दा होस पु¥याउनुपर्ने उनको भनाई छ । अहिले धेरैको पैसा सहकारीमा राख्दा डुब्यो, उठाइदिनु प¥यो भनेर फोन गर्ने गरेको समेत उनले सुनाए । काठमाण्डौका केहि सहकारीले सदस्यलाई बचत फिर्ता दिन नसकेकाले त्यसको प्रभाव भक्तपुरमा समेत पर्न सक्ने हुँदा सचेत भएर कारोबार गर्नुपर्नेमा उनले जोड दिए । ब्याजको लोभ देखाएर घरघरमा बचत संकलन गर्न आउने सहकारीको पछि नलाग्न समेत उनले सुझाए । साधारणसभामा आएर भत्तामात्र बुझ्ने संस्थाको बारेमा नसुन्ने हो भने सदस्यको पैसा डुब्न सक्ने भन्दै उनले सदस्यहरुलाई पनि संस्थाको बारेमा नियमित जानकारी लिन, साधारणसभामा बसेर कुरा बुझ्न सुझाव दिए ।