आइतबार, कार्तिक ९ गते २०८३

बैंकहरुले ल्याएको नयाँ स्किमले सहकारीलाई अप्ठेरो पार्‍यो

भाद्र १९, २०७९ आइतबार
बैंकहरुले ल्याएको नयाँ स्किमले सहकारीलाई अप्ठेरो पार्‍यो

बैंकहरुले निक्षेप तान्न बचतको दशगुणासम्म प्रतिफल दिने जस्ता स्किम ल्याउँदा सहकारीहरु अप्ठेरोमा परेको सहकारीकर्मीले बताएका छन् । तरलताको अभावसँगै बैंकहरुले यस्ता स्किम ल्याउँदा सहकारी क्षेत्रको रकम बैंक तर्फ पलायन हुन पुगेको उनीहरुले जनाएका छन् । शुरुमा सहकारीमा तरलता अभावको समस्या नभएपनि बैंकहरुमा त्यो समस्या आएपछि निक्षेप तान्न अनेकन् स्किम ल्याएपछि सहकारी क्षेत्रको बचत पनि बैंकतर्फ गएको उनीहरुको भनाई छ । 

सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुको १० गुणासम्म बढ्ने बचत योजनाले सहकारीमा तरलता अभाव भएको बताएकी छिन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले अहिलेसम्म यस्ता मुद्दति योजना ल्याएका थिएनन् ।  ‘१० गुणा बढी रकम पाइने २१ वर्षे बचत योजना ल्याएपछि सहकारीको पैसा बैकतिर गएकाले तरलताको अभाव भएको छ ।’

विश्वमै आएको आर्थिक संकटका असरका कारण सहकारीमा पनि तरलता अभाव भएको भन्दै मल्लले यसबाट सहकारीलाई सुधारको मौका आएको पनि दावी गरिन् । ‘अब सहकारी सुधिर्नुपर्छ, संकटले सहकारी अभियानमा सुधिर्ने मौका मिलेको छ’ उनले भनिन् ।

पछिल्लो समयमा सहकारीमा समस्या आएसँगै एकीकरणको माहोल सिर्जना भएको र यसबाट सकारात्मक सन्देश प्रवाह भएको उनले दावी गरिन् । मल्लले सहकारीका सदस्यहरुले अधिकार र कर्तव्य पालना नगरेको बताइन् । सहकारीहरु स्वनियमन र स्वअनुशासनमा चल्ने भएपनि सदस्यले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा समस्या सिर्जना भएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको उल्लेख गरे ।  ‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पुर्‍याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, को संग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उनले भने, ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या उत्पन्न गरेको हो ।’

उप्रेतीले कानुन अनुसार १० देखि २० प्रतिशतसम्म तरलता राख्दाराख्दै पनि बचत फिर्ताको अत्याधिक माग आउँदा समस्या उत्पन्न हुनसक्ने औंल्याए । 

बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने उनको जिकीर थियो । सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशत भन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको स्मरण गराए ।

उनले सबै सहकारी अनिवार्य सुशासनमा बस्नुपर्ने आवश्यकता औंल्याउँदै राज्य, अभियान, बचतकर्ता सदस्य र संचालकहरुले मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सुदिल पाेखरेललाइ सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकाे छ । त्यसैगरी संस्थापक सम्मानबाट संस्थाका निवर्तमान अध्यक्ष खिला दाहाल सम्मानित भएका छन्, उनी सिजेएन स्थापना गर्दा सहसचिव रहेका थिए ।  

khila dahal.jpg