आइतबार, कार्तिक ९ गते २०८३

११ सहकारीबीच मर्जर सम्झौता, “राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था” बन्ने

भाद्र १९, २०७९ आइतबार
११ सहकारीबीच मर्जर सम्झौता, “राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था” बन्ने

 

काठमाडौं जिल्लामा रहेका ११ वटा सहकारी संस्थाहरुबीच एकीकरणमा जाने सम्झौता भएकाे छ।

काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्थाले यस्तो सम्झौता गरेका हुन् । 

एकीकरणपश्चात संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहने प्रस्ताव गरिएको छ । ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमति भएको जनाइएको छ । 

एकीकरणपछि संस्थाको कुल सदस्य संख्या ४१ हजार सदस्य हुनेछ । संस्थाको सेयर पुँजी ५५.५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१.५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुनेछ । त्यसैगरी कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एकिकरण अहिलेको अवसर र आवश्यकता दुवै भएको बताए । अधिकांश सहकारी संस्था एकिकरणमा नगए दिगो रुपमा टिक्न नसक्ने भन्दै उनले काठमाण्डौमा भएका ४ हजार सहकारीलाई एकिकरणमार्फत् एक हजार भन्दा तल झार्नुपर्ने बताए । 

अध्यक्ष कँडेलले क्यानडाको उदाहरण दिँदै भने, ‘एक दशक अगाडि क्यानडा जाँदा ४५० सहकारी रहेको र त्यसलाई घटाएर १५० मा झार्ने लक्ष्य रहेछ । त्यसैगरी नेपालमा पनि सहकारी संस्थालाई मजबुत बनाउन र सदस्यलाई गुणस्तरीय सेवा दिन संस्थाहरुबीच एकिकरण आवश्यक छ । ’

हरेक संस्थाले कुल बचतको ८० प्रतिशत लगानी गर्ने भएकाले सबै बचतकर्ता एकैपटक बचत फिर्ता लिन आए बचत फिर्ता गर्न नसकिने भएकाले सदस्यहरुलाई संयमित भएर संस्थाको अवस्थाअनुसार कारोबार गर्न उनले आग्रह गरे । सहरी क्षेत्रमा सहकारीको संख्या अधिक भएकाले बचत ऋण सहकारीको दर्ता पूर्णरुपमा बन्द गर्नुपर्ने समेत उनले औंल्याए । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारीहरुबीच एकिकरण हुँदा वित्तीय रुपमा बलियो हुने भन्दै समयसमयमा दोहोरिरहने समस्याहरुको सामना गर्न सकिने बताए । सहकारीमा विश्वासको कमीले बचत फिर्ता माग्नेको संख्या बढेको भन्दै उनले एकाध सहकारीका कारण अभियानमाथि नै अविश्वास बढेकाले सबै सहकारीलाई मुल्यमान्यता र सिद्धान्तअनुरुप चल्न उनले आग्रह गरे । 

कार्यक्रममा महासंघका सञ्चालक टेकप्रसाद चौंलागाईंले समयले एकिकरणमा जान संस्थाहरुलाई बाध्य बनाएको उल्लेख गरे । कार्यक्रममा प्रस्तावित राष्ट्रिय बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बिष्टले आफूहरुले संस्थाहरुबीच एकिकरणका लागि लामो समयदेखि आन्तरिक छलफल गर्दै आएको र समयको मागले एकिकरणमा जान थप जोड पुगेको बताए । एक महिनाभित्र सबै संस्थाहरुले साधारणसभा गरिसक्ने र एकिकरणको प्रस्ताव पारित गरी त्यसको १५ दिनभित्र संयुक्त साधारणसभामार्फत एकिकरणलाई टुङ्ग्याउने तालिका रहेको बताए । 

आफूहरु एकिकरणलाई सार्थक बनाउन लागिपरेको भन्दै उनले अहिले सहकारीहरु तरलता अभाव भन्दापनि जनविश्वासको कमी हुन गएको बताए । संस्थाहरु वास्तविक समस्या नभएपनि बजारको हल्लाले समस्यातर्फ उन्मुख भएको उनको तर्क छ । ससाना बचतकर्ता र सामुहिक जमानीमा ऋण लिएका बाहेक नियमित रुपमा कारोबार गर्ने र ठूलो बचत भएका सदस्यहरुले संस्थालाई सहयोग नै गरिरहेको उनले सुनाए ।