उपत्यकामा रहेका आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी गरी ५ वटा संस्थाबीच एकिकरण भएको छ ।
मर्जपश्चात बनेको संस्थाको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था’ रहेको छ । संस्थाको अध्यक्षमा ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने शनिबार आयोजित एकिकरण कार्यक्रममा जानकारी दिइयो ।
मर्जपछि संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख र कारोबार ९ अर्ब आसपास पुग्नेछ । मर्जपछि संस्थाको कुल बचत ४ अर्ब ६३ करोड ७० लाख, कुल ऋण लगानी ४ अर्ब ९९ करोड ४५ लाख र कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुग्नेछ ।
त्यसैगरी सदस्य संख्या ३५ हजार २० जना र ऋणी सदस्यको संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ । मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख र कर्जा जोखिम कोष १२ करोड ४२ लाख र संस्थाको तरलता १ अर्ब १३ करोड ९८ लाख ८७ हजार रुपैयाँ रहने संस्थाले जनाएको छ ।
एकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एकिकरण अभियानलाइ अझ अघि बढाउनुपर्ने भन्दै नगरपालिकाहरु वित्तीय कारोबार गर्ने सहकारी सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीहरुमा बचत फिर्ताको समस्या नरहेको भएपनि बैंक तथा वित्तीय संस्थाले अफवाह फैलाउँदा कठिनाइ भएको जिकिर गरे । सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तिय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको उप्रेतीको दाबी छ ।
बाग्मती प्रदेशका रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलिया घुसपैठ हुदाँ समस्यामा आएको बताउँदै एकतावद्ध भएर यो समस्याको डटेर समाधान गर्न आग्रह गरे । उनले कतिपय सहकारीहरुले कार्यक्षेत बढाउने, सेवा केन्द्र बढाउने मात्र उद्देश्यका साथ मर्ज गर्ने गरेको भन्दै शनिबार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको जनाए ।
