मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा आयोजित रक्तदान तथा सम्मान घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक सदस्य एबं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवशराज खड्काले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले संस्था सदस्यहरुको बिश्वासिलो र आर्थिक हिसाबमा मजुबुत भएको र यस्ता सामाजिक कार्यले गर्दा झन भरपर्दो भएको धारण राखेका थिए ।
संस्थाको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा एवं नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको सहकार्यमा भएको उक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरे ।
संस्थाले स्थापना दिवसको दिन आर्थिक बर्ष २०७८।२०७९ मा विभिन्न विधामा सम्मान तथा पुरस्कारको लागि सम्मानित हुने शेयर सदस्यसहित २८ विधामा सम्मान घोषणा गरेको थियो । घोषित सम्मान तथा पुरस्कार संस्थाको २९ औं साधारण सभाको अवसरमा वितरण गरिने संस्थाले जनाएको छ ।
दिवसकै अवसर पारेर सिंगटी आसपासमा रहेको घाट र मन्दिरहरुमा डस्टबिन समेत वितरण गरिएको छ । रक्तदान गर्नेहरूलाइ प्रमुख अतिथि र अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित संस्थाको सञ्चालक सदस्य सुरेशचन्द्र खड्काले स्वागत गरेका थिए । बिगु गाउँपालिकाका प्रमुख कार्यकारिणी शैलेन्द्र भण्डारी , नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब दिल बहादुर केसी र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेलले आफ्नो धारणा सहित शुभकामना मन्तब्य राखेका थिए ।
