विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के. बी. लामा स्याङ्तान मुलुकभरकै बचतऋण सहकारीमध्ये उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३५ औं स्थापना दिवसका अवसरमा लामालाई साकोस अभियानकै उत्कृष्ट व्यवस्थापकको रुपमा घोषणा गरिएको हो ।
विगत २० वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील लामाले २६ भन्दा बढि फरकफरक विधामा तालिम लिएका छन् भने उनले प्रशिक्षकको रुपमा १५ भन्दा बढि तालिम दिएका समेत छन् । लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकारीको अवलोकन भ्रमणका साथै गोष्ठी तथा सेमिनारहरुमा सहभागिता जनाएका छन् ।
यस अघि २०७० मा पनि उनी उत्कृष्ट व्यवस्थापकरुपमा घोषित भएका थिए । म्यानेजर्स क्लब गठन भएपछि भने यो उनको पहिलो पुरस्कार भएको नेफ्स्कुनका निवर्तमान अध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक डिबी बस्नेतले बताए ।
२०७३ सालमा जिल्ला सहकारी संघ काभ्रेबाट उत्कृष्ट व्यवस्थापक र २०७८ मा आकु, थाइल्याण्डबाट क्रेडिट युनियन एक्जेक्युटिभ अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।
पशुपति बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेका लामाले एशियाली ऋण महासंघ(आकु) बाट एक्सेस मास्टर अडिटर ट्रेनिङ, क्रेडिट युनियन म्यानेजर्स कम्पिटेन्सी कोर्ष, प्रडक्ड डिजाइनिङ तालिम आदि लिएका छन् ।
नेफ्स्कुन स्थापना दिवसमा घोषणा गरेको सम्मान आगामी साधारणसभा प्रदान गर्ने जनाएको छ ।