शनिबार, आश्विन १७ गते २०८३

मुद्रास्फिति दोब्बर, यातायातमा १५ प्रतिशत माथि

भाद्र २, २०७९ बिहीबार
मुद्रास्फिति दोब्बर, यातायातमा १५ प्रतिशत माथि

गत आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा मुद्रास्फिति दोब्बरले वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत एक वर्षकाे तथ्यांक अनुसार आर्थिक वर्ष २०७८ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ रहेकाेमा २०७९ असार मसान्तमा पुग्दा ८.०८ प्रतिशत हुन पुगेकाे हाे । 

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ को पछिल्लो त्रैमासमा मुद्रास्फीतिमा चाप परेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित हुन पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो औसात ३.६० प्रतिशत रहेको थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत ६.६८ प्रतिशत रहेको छ ।