नेपाल विद्युत प्राधिकरणले १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। प्राधिकरणको ३७औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपतमा भएको वृद्धि, चुहावट नियन्त्रण, प्राधिकरणको विद्युतगृहबाट उत्पादन वृद्धि, ४५६ मेगावाट माथिल्लो तामाकोसी संचालन, विद्युत आयातमा कमी तथा निर्यातमा भएको वृद्धि लगायतका कारणले सो मुनाफा गर्न सफल भएको बताए।
प्राधिकरणको आब २०७७।७८मा ६ अर्ब २७ करोडको तुलनामा खुद मुनाफा १५६.७३ प्रतिशतले वृद्धि भएर १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ पुगेको हो। विद्युत बिक्री तथा अन्य आय गरि आव २०७८।७९ मा प्राधिकरणको कुल आम्दानी ९६ अर्ब ६२ करोड भएको छ। जुन आव २०७७।७८ को ७८ अर्ब ७४ करोडभन्दा २२.७१ प्रतिशतले बढी हो। विद्युत खरिदसहितको संचालन खर्च आब २०७७।७८ को ५६ अर्ब २८ करोड तुलनामा १४.१६ प्रतिशतले वृद्धि भई ६४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।