आइतबार, कार्तिक ९ गते २०८३

“समुदाय र सदस्यकेन्द्रित सहकारीमा समस्या छैन, हल्लाका पछि नदौडौं” – रजिष्ट्रार पण्डित

श्रावण ३१, २०७९ मंगलबार
“समुदाय र सदस्यकेन्द्रित सहकारीमा समस्या छैन, हल्लाका पछि नदौडौं” – रजिष्ट्रार पण्डित

सहकारी विभागका रुद्रप्रसाद पण्डितले सहकारीका सदस्यलाई अनावश्यक हल्ला र अफवाहका पछि नलाग्न आग्रह गरेका छन् । आफ्नो संस्थालाई दिगो र गतिशील बनाउनतर्फ लाग्न उनको सुझाव छ । नेफ्स्कुनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै पण्डितले सदस्यले संस्थाबाट लिएको ऋण समयमा नतिर्ने र बजारमा सानोतिनो हल्ला आउँदा त्यसकै पछि लागेर बचत फिर्ता लिन जाने हो भने जस्तो सुकै संस्था पनि समस्यामा पर्ने उल्लेख गरे । 

संस्था निरन्तर सञ्चालन भयो भने मात्रै सदस्यको भविष्य उज्ज्वल हुने हुँदा संस्थालाई दिगो एवं सबल बनाउन सदस्यहरु सक्रिय हुनुपर्ने उनले बताए । सदस्य र समुदायकेन्द्रित संस्थालाई जस्तोसुकै उतारचढाव आएपनि नहल्लाउने भन्दै त्यस्ता संस्थामा स्थिर भएर कारोबार गर्न उनले सुझाव दिए । नियमित बचत गर्ने र समयमा ऋण तिरे संस्था संस्था जीवित हुनेहुँदा आफ्नो दायित्व सम्झी सदस्यले सोही अनुसार व्यवहार गर्नुपर्नेमा उनले जोड दिए । 

सीमित स्वार्थ र अनुत्पादक क्षेत्रमा लगानी गर्ने संस्था समस्यामा पर्ने स्वाभाविक भएको उनको भनाई छ । केहि समय अघि महासंघ र केन्द्रिय संघहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिले सहकारी क्षेत्रमा थप अन्यौल सिर्जना गरेको भन्दै उनले भने ‘बचतको ५ प्रतिशतमात्र फिर्ता दिनु र लाभांश नबाँड्नु भन्ने विषयलाई अनावश्यक रुपमा हाइलाइट गरियो । यी विषयलाई सम्बोधन गर्न विभागले छिट्टै नीतिगत निर्देशन जारी गर्दैछ ।’

संस्थागत सुशासन, विधि, प्रविधि अवलम्बन गरेका, पर्याप्त तरलता र मुनाफामा सञ्चालन भएका सहकारीले लाभांश वितरण र सदस्यको माग अनुसार बचत फिर्ता गर्न सक्ने उनले जनाए । सहकारी क्षेत्रमा अहिले आएको हावाहुरीबाट संस्थालाई बचाउन सक्नुमा नै नेफ्स्कुन लगायत अभियानका नेतृत्वकाे सामर्थ्य देखिने भन्दै नीतिगत रुपमा सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे । वर्षको हिसाबले अभियानले ६५ वर्ष पार गरेपनि सहकारीमा आउने तरलता अभाव जस्ता चुनौतिलाई व्यवस्थापन गर्न नसकेर धर्मराउनु पर्ने अवस्था आउँछ कि भन्ने कुरालाई अभियानले आत्मालोचना गरेर अघि बढ्नुपर्ने सुझाव उनको थियो ।