आइतबार, कार्तिक ९ गते २०८३

‘कर्जा सूचना केन्द्र स्थापनामा ढिलाइ भएको होइन, प्रभावकारी कार्यान्वयनमा ल्याउने तयारी हो’: मन्त्री श्रेष्ठ 

श्रावण ३१, २०७९ मंगलबार
‘कर्जा सूचना केन्द्र स्थापनामा ढिलाइ भएको होइन, प्रभावकारी कार्यान्वयनमा ल्याउने तयारी हो’: मन्त्री श्रेष्ठ 



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, सहकारी प्रवद्र्धन कोष जस्ता ऐनमा भएका विषय कार्यान्वयनमा आफू लागिपरेको बताएकी छिन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएकि हुन् । गत असारमा नै कर्जा सूचना केन्द्र घोषणा गर्न खोजेको भए पनि कुनै तयारी पूरा नभएकाले हचुवाका भरमा काम गर्दा परिणाम नआउने भएकाले केहि समय पछि सरेको उनले प्रष्ट पारिन् ।

ती व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुने बनाउन आवश्यक नीतिगत, संगठनात्मक र संरचनात्मक व्यवस्थाहरु निर्माणमा लागेको उनले जनाइन् । छिटै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण सञ्चालनमा आउने समेत उनले बताइन् । 
यी व्यवस्थालाई प्रभावकारी बनाउन, ऐन कानुनमा के कस्ता परिमार्जन गर्नुपर्ने गरेर जानुपर्ने हो त्यसका लागि गृहकार्य भइरहेको समेत उनले सुनाइन् ।

चर्का भाषण गर्ने, लेख लेख्ने तर काम नगर्ने प्रवृत्ति सहकारी अभियानका नेतृत्वमा रहेको भन्दै उनले रोष प्रकट गरिन् । वित्तीय सुशासनको कमजोर प्रदर्शनले सहकारीमाथि सदस्यको विश्वास र भरोसा घट्दै गइरहेको छ भन्दै उनले अभियानलाई मर्यादित, दिगो र विश्वनीय बनाउनुपर्नेमा जोड दिइन् ।

सहकारी अभियानलाई सफल बनानउ सरकार र अभियानकर्मी दुवैको भूमिका महत्वपूर्ण भएकाले एकले अर्कालाई दोषारोपण गरी जिम्मेवारीबाट भाग्ने छुट कसैलाई नभएको उनको भनाइ छ । उनले थपिन् “सरकार गलत, आफू मात्र ठीक सरकारले गर्न सकेन गर्दैन भन्ने सहकारी क्षेत्रको सर्वेसर्वा सबै मै हुँ भन्ने प्रवृत्ति पनि देखा परेको छ । यस्तो प्रवृत्ति गलत हो ।”

मन्त्री श्रेष्ठले अभियानकर्मीका आआफ्नै स्वार्थ रहेको भन्दै थपिन् “विभिन्न देशमा सहकारीका भिन्नभिन्न मोडल प्रचलनमा छन् । आम नागरिकको दैनिक जीवनलाई सहकारी ले छुनुपर्छ भन्ने हो । आफूलाई फाइदा हुने भए त्यस्तै चाहियो नत्र भैगो भन्ने आत्मकेन्द्रित सोच हामीकहाँ छ ।”

कोभिडकालपछिको आर्थिक अवस्था संवेदनशील भएको बताउँदै उनले प्रश्न गरिन् “अहिलेको अवस्थामा एक्लैले कसैले थाम्न सक्दैन । सुशासनको कमी, सदस्य केन्द्रित नहुनु, साझा भावना बन्धनमा नबाँधिनु, व्यवसायिक नहुनु सरकारको मात्रै जिम्मेवारी हो ? हो भने म जिम्मेवारी लिन तयार छु ।”

उनले संघ महासंघको भूमिका के हो भन्ने सम्झाउँदै सहकारी ऐनको दफा ९९ पल्टाउन सुझाइन् । सरकारमात्र एक्लो नायक हुन नसक्ने तर नेतृत्वकर्ता भने रहेको उनको भनाई थियो ।

बचत तथा ऋणको क्षेत्र अत्यन्तै संवेदनशील र जोखिम युक्त भएकोले, हालसालै समस्या ग्रस्त संस्था बढ्दै जानुले पनि यस क्षेत्रमा जोखिम बढ्नुमा नीतिमा हो कि नियतमा समस्या हो ? भन्ने प्रश्न उनको थियो । बैंकिङ शैलीमा सहकारी चल्न खोज्नुले सहकारी साहुकारी बन्न लागेको आरोप उनको थियो । एक फरक प्रसंगमा उनले आफूपनि सहकारीबाट ठगिएको र ऋणमा २३ प्रतिशतसम्म ब्याज तिरेको बताइन् ।

तथापि सहकारी अभियान जनजीवनमा स्थापित भएकोले आर्थिक विकास, विस्तार, राष्ट्रिय पुँजी निर्माण बचत वृद्धि र लगानी परिचालनका साथै सदस्यको वृहत् सञ्जालमार्फत सामाजिक सशक्तिकरण र गरिबी निवारण भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिइन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बजारमा तरलता अभावका कारण बैंकहरुले विभिन्न स्किम ल्याएर निक्षेप संकलन गरेको परिप्रेक्ष्यमा सहकारीको पनि सन्दर्भ ब्याजदर परिमार्जनको आवश्यकता रहेको औंल्याए । अहिलेलाई बजार अनुसार ब्याजदर परिमार्जन गरौं भन्दै भविष्यमा ऐन संशोधन गरेर बेस रेटका आधारमा ब्याजदर निर्धारण हुने व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालले संस्थाहरुमा विकृति आउन नदिन अभियान र राज्यले संयुक्त रुपमा संस्थाहरुको अनुगमन गर्नुपर्ने बताए ।

राज्यले दर्ता दिएका तर अभियानमा नजोडिएका संस्थाहरु नै अहिले समस्यामा परेको उनको भनाई छ । सहकारी अभियानलाई कसैले पनि निस्तेज गर्न नसक्ने र त्यसप्रकारको दुस्साहस नगर्न समेत उनले चेतावनी दिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले अभियानले चाहेको कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण जस्ता निकायको व्यवस्था किन अगाडि बढ्न सकेन भनेर प्रश्न गरेका थिए । सहकारीमा भएका कमी कमजोरीलाई सूधार गर्दै जानुको विकल्प नभएको भन्दै उनले राज्य र अभियानको संयुक्त प्रयासबाट मात्रै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिने उनले बताए ।

महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मुलुकभर रहेका सबै बचत ऋण सहकारीलाई नेफ्स्कुनको छाताभित्र ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका सभापति नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले सहकारी अभियान कालो बादलको घेराभित्र मडारिइरहेको भएपनि आशाका किरण भने कायमै रहेको बताए । सहकारी अभियानले उन्नत समाज बनाउने परिकल्पना गरेकोले त्यसका लागि प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नु पर्ने उल्लेख गरे ।