विश्व अर्थतन्त्र नै खस्किएको वर्तमान परिप्रेक्ष्यमा नेपालमा पनि दुईचारवटा सहकारीले गरेको बदमासीले साना सहकारीलाई समाजमा आफ्नो छवि बचाइराख्न हम्मेहम्मे परेको अवस्था छ । यस्तो अवस्थामा सहकारी क्षेत्रको साख कसरी जोगाउने भन्ने विषयमा कहीँकतै छलफल भएको पनि देखिन्छ । राष्ट्रिय सहकारी महासंघ र विभिन्न संघहरुको संयुक्त विज्ञप्ति पनि प्रकाशित भएको छ । यो स्थितिमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक, सामाजिक रुपमा आफ्नो सहकारीसँग आवद्ध सदस्यहरुको पनि महत्वपूर्ण भूमिका हुनपथ्र्यो तर यहाँ त्यसो भएको पाईंदैन ।
सहकारीका सञ्चालक र कर्मचारीको टिमले सदस्यको पैसा अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारणले पनि यो स्थिति भोग्नु परेको कुरामा कुनै दुईमत नै छैन । सञ्चालकले आफ्नो संस्थामा आवद्ध शेयरसदस्यलाई माया एवं सद्भाव जगाउन नसक्ने बनाउनु नै कमजोरी हो । यो बेला प्रत्येक सदस्यले आफूले खेल्नुपर्ने भूमिका खेल्न सक्ने बनाउने जिम्मा सञ्चालक समितिको हुन्छ । एकको लागि सबै र सबैका लागि एक भन्ने सहकारीको सर्वमान्य मान्यता हो । छरिएर रहेको पुँजीलाई एकदल गरी प्रत्येक सदस्यको घरघरमा पुगी सयपचास उठाएर फेरि तिनै सदस्यलाई लगानी गरी उनीहरुको आर्थिक जीवनस्तर उकास्ने माध्यम हो सहकारी संस्था र हामीले त्यही नै गरिरहेका छौ । हुने खाने र हुँदा खाने बिचको खाडल पुर्दै समाजमा समानता ल्याउने माध्यम पनि हो सहकारी ।
सहकारीकर्मी जो सुकैलाई पनि अहिले सहकारीमा काम गर्छु भन्दा हिच्किचाहट हुने स्थिति सिर्जना गर्ने जमातबाट हामी टाढा रहन सक्नुपर्छ । आफ्ना शेयर सदस्यलाई बुझाउन सक्ने क्षमता हामीमा विकास भयो भने कुनै नकारात्मक समाचारको पछि दौडेर आफ्नो सहकारीमा बचत फिर्ता गर्नेको घुइँचो सहनुपर्ने स्थिति आउँदैन । कसैसँग उठाएको पैसाले कसैको आर्थिक पाटोमा उन्नति ल्याउँछ त केवल सहकारीले । यो समय बजारमा आएका नकारात्मक समाचारको पछि लागेर आफ्नो संस्थालाई औंला उठाउनुभन्दा मेरो एक प्रयासले संस्थाको साख बलियो हुन्छ भन्ने सोचको विकास प्रत्येक शेयरधनी सदस्यमा हामी सहकारीकर्मीले जगाउन सक्नुपर्छ । यो समय आत्तिने र अत्तालिनेभन्दा आफुले गरेको कामको गर्व गर्ने बेला हो । चामलको थुप्रोमा एक दुईवटा धान भेटिएजस्तै हो । कुनै एउटा सहकारीमा बदमासी भयो भन्दैमा सबै सहकारीमा हुन्छ भन्ने होइन । सहकारीभित्र काम गर्न त्यति सजिलो छैन तर चुनौतिभित्र पनि मीठो अनुभूति यस क्षेत्रमा छ । समाजको वास्तविक चित्रण देख्न पाइन्छ । समाजमा महिलाहरुको जीवनस्तर उकास्ने आर्थिक सारथी बन्ने चेष्टा यहाँ छ । तल्लो वर्गको मुहारमा हाँसो थप्ने ईंटा भइ काम गर्न पाइन्छ । दिनको लाखौं रुपैया खानपानमा सक्ने वर्गलाई थाहा हुँदैन, सहकारी के हो ?
दिनमा सयपचास रुपैया जम्मा गरेर मासिक घरभाडा बुझाउने, छोराछोरीको फि बुझाउने वर्गलाई सहकारीले सँगै लिएर हिँडेको छ । त्यसैले हामी गर्व गर्छौं आफ्नो कामप्रति । आफ्नो कामले कसैको चुलो बलेको देख्दा, कसैको छोराछोरीले उच्च अंक ल्याइ परीक्षा पास गरेको देख्दा र कसैको नाङ्गो आङ ढाकिएको देख्दा गर्व लाग्छ आफ्नो कामप्रति । एउटाको बदमासीले गर्दा सिंगो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं । हामी सहकारीकर्मी र शेयरसदस्य सबै मिलेर गलतलाइ पहिचान गर्न सकौं र राम्रोलाई सम्हालेर मलजल गरौं ।
(फुल्लेल सबल महिला बहुउद्देश्यीय सहकारीकी प्रबन्धक हुन्)