सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्रबैंकलाई पत्राचार गरेको छ ।
संस्थाका १०७५ जना सदस्यले आफुले बचत फिर्ता नपाएको भन्दै विभागमा गएर उजुरी गरेपछि प्राप्त निवेदनका आधारमा राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
त्यसैगरी गौतमश्री बहुउद्देश्यीय सहकारी को काठमाण्डौ महानगपालिका वडा नं. १४ कुलेश्वरमा रहेको केन्द्रीय कार्यालय, विभिन्न सथावनमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल अचल सम्पति विभागको अनुमति बिना खोल्न, चलाउन र सरसामान विक्री वितरण गर्न नपाउने गरी सुरक्षा प्रदान गर्न र सिलबन्दी लाहाछाप गरी जानकारी पठाइदिन भन्दै प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाएको छ ।
संस्थाका सञ्चालक एवं कर्मचारीलाई विभागमा उपस्थित गराउन समेत विभागले प्रहरीलाई पत्र लेखेको छ । थप कारवाहीका लागि ३ दिनभित्र सम्बन्धित निकायमा सिफारिस गरिपठाउने जनाएको छ ।
काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् ।
संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रविन्द्र विष्ट लगायत सबै पदाधिकारी सम्पर्कविहीन रहेको सदस्यहरूले बताए ।