शनिबार, आश्विन १७ गते २०८३

सन्दर्भ व्याजदरले बाँधिए सहकारी, राष्ट्र बैंकले नै दियो ऋणपत्रमा १४ प्रतिशत ब्याज

श्रावण १२, २०७९ बिहीबार
सन्दर्भ व्याजदरले बाँधिए सहकारी, राष्ट्र बैंकले नै दियो ऋणपत्रमा १४ प्रतिशत ब्याज

 

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिइने ब्याजदर क्रमशः बढाउँदै लगेपनि सहकारी संस्थाहरूले भने सन्दर्भ ब्याजदरका कारण सदस्यलाइ बचतमा दिने ब्याजदर बढाउन सकेका छैनन् । सहकारीले गर्ने ऋण लगानीमा अधिकतम १६  प्रतिशत भन्दा बढि ब्याज लिन नपाइने भएपछि बचतमा दिइने ब्याज बढाउन नसकेका हुन् । 

बचत र ऋणबीच ब्याजदर अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सन्दर्भ ब्याजदरको नाममा ऋण लगानीमा सिलिङ लगाइँदा संस्थाहरू अप्ठेरोमा परेका हुन् । 

बजारमा तरलताको अभाव भएसँगै बैंकहरूले ब्याजदर बढाएपछि सहकारीको बचत क्रमशः बैंकतर्फ गएको छ । सहकारीको भन्दा बैंकहरूले आकर्षक ब्याज दिएपछि सहकारीको पुँजी बैंकतिर पलायन हुन थालेको हो । राम्रो ब्याजपनि पाइने र सुरक्षित पनि हुने देखेपछि सहकारीको पैसा बैंकमा गएको सहकारीकर्मीहरू नै बताउँछन् । 

सहकारीमा सन्दर्भ ब्याजदरको सिलिङका कारण संस्थाहरूले समयसापेक्ष बचतमा ब्याज दिन सकेका छैनन् । जसका कारण सहकारी संस्थाहरूमा क्रमशः बचत घट्दै गएको छ । बचत अभाव हुँदा अधिकांश सहकारी संस्थाले सदस्यलाइ ऋण प्रवाह गर्न बन्द गरेका छन् । 

यता राष्ट्र बैंकले निष्काशन गरेको ट्रेजरी बीलमा नै १४ प्रतिशतसम्म ब्याज दिएको छ । राष्ट्र बैंकले केहि दिनअघि २८  दिने २ अर्ब र ९१ दिने ६० करोडको ट्रेजरी बिल्स जारी गरेको हो । बैंकहरूले प्रस्ताव गरेकाे ब्याजमा राष्ट्र बैंकले सहमति जनाएकाे हाे । 

बैंकहरूले गर्ने कर्जा लगानीले आयत बढाउने भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल्समा उच्चतम ब्याज दिएको हो । विगत वर्षहरूमा यस्ता ट्रेजरी बिल्समा चारपाँच प्रतिशत मात्र ब्याज दिइने गरिन्थ्यो । राष्ट्र बैंकले नै ऋणपत्रमा अधिकतम ब्याज दिएपछि सहकारी क्षेत्र तरलताको थप दवावमा पर्ने देखिएको छ । 

यता हरेक ४ महिनामा बजारको अवस्था हेरेर सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने बताइएपनि त्यो लागु हुन सकेको छैन । यस अघि फागुन दोश्रो साता सन्दर्भ ब्याजदर १४।७५ बाट १६ प्रतिशत पुर्‍याइएको थियो । 

ब्याजदर पुनरावलोकन भएको ६ महिना बित्न लाग्दा समेत सन्दर्भ ब्याजदर पुनरावलोकन समितिको बैठक बसेको छैन । बजार अनुसार सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नुपर्ने सहकारीकर्मीहरूको माग छ ।  यता राष्ट्र बैंकले चालु आ।व। २०७९।८० का लागि मौद्रिक नीति जारी बजारमा ब्याजको दर बढ्न सक्ने संकेत गरिसकेको छ । तर सहकारीहरूलाइ भने सन्दर्भ ब्याजदरको नाममा संकुचित गराइएको गुनासो सहकारीकर्मीको छ ।