नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी कारोबार अर्थतन्त्रका लागि चुनौति बनेको जनाएको छ ।
‘क्रिप्टो मुद्रा विश्वव्यापी वित्तीय को लागि एक प्रमुख चुनौतिका रुपमा विकसित भएको छ, विश्व अर्थतन्त्रमा यसको प्रभाव ठूलो छ, नेपालमा क्रिप्टो मुद्राको कारोवार गैरकानूनी भए पनि कारोबार भएको देखिन्छ, यसको नियन्त्रण गर्न आवश्यक छ ।’ उक्त प्रतिवेदनमा भनिएको छ।
क्रिप्टोकरेन्सीको कारोबारले ठगी र कर छली पनि बढेको, बैंक तथा वित्तीय संस्थामा साइबर क्राइमका घटनाहरुमा वृद्धि हुँदै गएको निष्कर्श प्रतिवेदनको छ । पछिल्लो समय एटीएम ह्याकिङ, बैंक ह्याकिङ लगायतका घटनाहरु बढेका छन् ।
क्रिप्टोको अनलाइन कारोबार गरेर छोटो समयमै मनग्य कमाउन पाइने आशामा क्रिप्टो कारोबारीहरु बढेको भन्दै नेपाल प्रहरीले पनि सक्रियता बढाएको छ। नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी भएको भन्दै वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिइसकिएको छ ।
विदेशी विनिमयसँग सम्बन्धित कसुरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था कानुनमा छ ।