बुधबार, भाद्र ३ गते २०८३

सहकारीमा तरलता अभाव हुनै नदिने यस्ताे उपाय अपनाउँ

श्रावण ८, २०७९ आइतबार
सहकारीमा तरलता अभाव हुनै नदिने यस्ताे उपाय अपनाउँ

सहकारीले आफ्नै बचत योजनाहरु बनाउँदै जानुपर्छ । ती योजनाहरुमा सदस्यले नियमित रुपमा बचत गर्न सकुन् । महिलाहरुको लागि गृहणी बचत, बाल बचत, दैनिक बचत र नियमित बचतलाई अगाडि बढाउने र सदस्यहरुालई राम्रोसँग बुझाउन र राम्रो ब्याज दिन सकियो र राम्रो ब्याज दिन सकियो भने संस्थाको लागि श्रोतको रुपमा रहिरहन्छ । यसले संस्थामा तरलताको कमी हुन दिँदैन ।

आज भोलि संस्थाहरुले बढि ब्याज दिएर आवधिक बचत लिइराखेका छन् । यसले संस्थाको खर्चमा पनि वृद्धि गरेको छ भने अर्कोतर्फ त्यस्तो बचत गर्ने सदस्यले संस्थालाई दवाब मात्रै दिइराख्छन् । बैंकसँग उनीहरुले तुलना गर्छन् र बैंकले जति ब्याज दिन्छ त्यो भन्दा बढी ब्याज खोज्छन् । यसले गर्दा हामी सबै बैंककै पछि लाग्नुपर्ने हुन्छ । बैंकले ब्याज बढायो । सहकारीले पनि बढाउनुपर्छ भन्ने तिर हाम्रो मनस्थिति जान्छ ।

सहकारीमा आवधिक बचत कम भयो र अन्य बचतहरु वृद्धि भयो भने बैंकहरुले जतिसुकै ब्याज बढाएपनि सहकारीलाई असर पर्दैन । हामी सुरक्षित हुन्छौ । नियमित रुपमा आउने बचतहरु आइराख्छ र संस्थामा पर्याप्त मात्रामा तरलता व्यवस्थापन हुनछ । विशेषगरी हामीले सदस्यहरुलाई नियमित रुपमा बचत गर्न सिकाउनुपर्छ । यसले सदस्य र संस्था दुवैलाई फाइदा हुन्छ । तरलता संकटको बेलामा पनि संस्थामा नियमति रुपमा पैसा आइरहन्छ ।

हाम्रो संस्थामा ७ हजार सदस्य छन् । उनीहरुबाट मासिक ५ सय रुपैया आएपनि धेरै ठूलो रकम आउँछ । त्यो महिनैपिच्छे आइरहेको हुन्छ । बालबालिका, महिला र ज्येष्ठ सदस्यलाई बचत गर्न सिकाउनुपर्छ । उमेर समुह अनुसारको बचतको प्रडक्ट बनाएर जन्मदेखि मृत्युसम्म विभिन्न क्रियाकलाप गर्नको लागि आवश्यक पर्ने बचतको योजना बनाउनु उपयुक्त हुन्छ । यसले गर्दा बचतमा नियमितता हुन्छ । वास्तवमा नियमित बचत नै सहकारी संस्थाको मेरुदण्ड हो । नियमित बचत अनिवार्यमा पर्छ । अन्य बचत भनेका सदस्यले भएको बेलामा राख्ने र नभएको बेलामा नराखेपनि हुन्छ । नियमति बचत भने मासिक रुपमा कबुल गरे अनुसार राख्नै पर्छ । सकेसम्म सदस्यले कहिल्यै नझिक्ने हिसाबले त्यो पैसा राख्नुपर्छ । यसले सदस्यको भविष्यलाई सुरक्षित गर्छ । साथै आउने पुस्ताको लागि पनि आर्थिक रुपमा टेवा पुर्याउँछ ।

नियमित बचत थोरै रकमबाट गरिने भएकाले शहरी क्षेत्रमा त्यति प्राथमिकतामा पर्दैन । सदस्यले यसलाई वेवास्ता गर्ने र ठूलो रकम मात्र राख्ने कुरा गरिन्छ । नियमित बचतको महत्व बुझ्न र बुझाउन नसकेको कारणले यो भइराखेको  छ । आवधिक बचत धेरै संकलन गर्दा संस्थालाई समस्यामा पार्छ । सदस्यले तुरुन्तै झिक्न सक्ने अवस्था रहन्छ । बैंक तथा वित्तीय संस्था र अन्य सहकारीले बढि ब्याज दिने बित्तिकै त्यो पैसा बारि जाने सम्भावना हुन्छ । त्यसकारण संस्थाले ३० प्रतिशतको हाराहारीमा मात्रै आवधिक बचत राख्दा राम्रो हुन्छ । हामीले आवधिक बचतमा बढि ब्याज दिन्छौं । त्यसमा बढि जोखिम छ । जुनमा सुरक्षित छ त्यसलाई कम ब्याज दिन्छौं । नियमित र बालबचत जस्ता प्रडक्टमा अलिकति बढि ब्याज दिएको खण्डमा सदस्यहरु बचत गर्न प्रोत्साहित हुन्छन् र बचत बढ्ने सम्भावना रहिरहन्छ । तर हामीले उल्टो गरिराखेका छौं । धन सृजना गर्ने बचतहरुलाई ८, ९ प्रतिशत् ब्याज दिन सकेको खण्डमा संस्थामा स्वतः बचत बढ्छ । मुद्दतीको पैसाहरु पनि यतातर्फ नै सर्छ ।

तरलता संकट आउनुमा धेरै कारण छन् । त्यस मध्येको एउटा मुद्दती बचत पनि हो भन्ने कुरामा हामी सहमत हुनुपर्छ । अन्य बचतका प्रडक्टलाई वेवास्त ागर्ने र मुद्दती बचतलाई मात्रै प्राथमिकता दिने गर्दा समस्या आएको हो । समुदायमा आधारित सहकारी संस्थाले मुद्दतीलाई भन्दा अन्य बचतलाई प्राथमिकता दिन सकेको खण्डमा सहकारीलाई सुरक्षित राख्न सकिन्छ । 
सदस्यलाई ऋण परिचालन सम्बन्धी जति धेरै शिक्षा दिन सक्यो, त्यति नै राम्रो हुन्छ । सदस्यको व्यक्तिगत तथा पारिवारिक आम्दानी, तिर्न सक्ने र गर्ने व्यवसाय के हो ? त्यसलाई अध्ययन गरेर ऋण लगानी गर्दा दुवै पक्षलाई राम्रो हुन्छ । ऋण मात्रै लागनी गर्ने र सदस्यको तिर्न सक्ने क्षमतालाई विचार गरिएन भने पैसा फसिराख्छ । हामीले ऋण लागनी गर्दा सदस्यले जे व्यवसाय गर्न लागेको हो, त्यो भन्दा फरक व्यवसायबाट पनि तिर्न सक्छ कि सक्दैन, त्यसलाई हेर्छौं । सदस्यको चरित्र र तिर्न सक्ने क्षमता हामीले हेर्नुपर्छ । त्यसपछि मात्र धितोको कुरा आउँछ । तिर्नसक्ने क्षमता र समाजमा उसको प्रतिष्ठा राम्रो छ भने त्यस्तो सदस्यलाई हामीले लगानी गर्नुपर्छ । सदस्यले संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गरेर नाफा गरेर ऋण तछिु भन्छ भने त्यो सम्भव छैन ।

शुभकामनाले मुख्य ५ वटा र अन्य १२ वटा गरी १७ प्रकारका बचत सञ्चालनमा ल्याएको छ । ५ वटा बचत धेरै जसे सहकारीमा हुन्छ । नियमित, ऐच्छिक, बाल बचत, दैनिक बचत र मुद्दती बचत । त्यसबाहेक हामीले तरलतामा कमी भएपछि दुईतीनवटा नयाँ खाले बचत पनि शुरु गरेका छौं । त्यसमा सदस्यले पहिला नै एउटा संकल्प गर्छन् । आफ्नो व्यापारव्यवसाय वा छोराछोरीको शिक्षा, विवाह, ब्रतबन्ध जस्ता कार्य गर्न अहिले नै संकल्प गर्ने र सोही अनुसार मासिक ५–१० हजार बचत गसरीनिशिचत समयमा यति पुर्याउने र त्यो बोलमा सदस्यले आँटेको काम गर्न सक्छन् । त्यसमा हामी १० प्रतिशत ब्याज दिन्छौं । ज्येष्ठ सदस्यको लागि ज्येष्ठ सदस्य सम्मान शुरु गरेका छौं । मातातिर्थ औंशीको दिनबाट शुरु गरेकाले अर्को वर्षको सोही समयसम्म बचत गर्नुपर्ने हुन्छ । त्यसुमा बढि ब्याज पनि दिएका छौं । र घरमै ब्याज पुर्याइदिन्छौं । अर्को लघु आवधिक बचत ल्याएका छौं । आवधिक बचत भन्ने वित्तिकै ठूलो रकम राख्नुपर्छ भन्ने सोच छ । त्यसलाई चिर्दै सानासाना बचत पनि आवधिक गर्न सकिन्छ भन्ने सन्देश दिन यो बचत शुरु गरेका हौं  । १० हजारबाट शुरु गरेपनि पछि त्यसैमा १० हजार थप्न पनि मिल्छ । शुरुकै मुद्दती बचतमा पटकैपिच्छे रकम थप्दै लैजन पनि मिल्छ । निश्चित समससम्म सदस्यले थप्दै लैजान सक्छन र ब्याजदर एउटै हुन्छ । अर्को आकस्मिक बचत पनि शुरु गरेका छौं । कोभिडको समयमा औषधी उपचारदेखि भविष्यमा आइपर्ने गर्जो टान सजिलो हुन्छ भनेर यो बचत शुरु गरेका हौं । यसलाई हामीले मुद्दतीको विकल्पको रुपमा लिएका छौं । एक जना सदस्यालई ६ महिनाका लागि जीवनयापन गर्नका लागि चाहिने पैसा आकस्मिक बचतमा राख्नुपर्छ भनेर सदस्यलाई शिक्षा दिन्छौं । आधा सदस्यले मात्रै त्यस खातामा पैसा जम्मा गरे भने पनि उनीहरुको भविष्य सुरक्षित हुन्छ । संस्थामा पनि ठूलो रकम जम्मा हुन्छ र तरलताको अभाव हुँदैन । समय अनुसार हामीले विभिन्न प्रडक्टहरु सञ्चालनमा ल्याउँछौं । यदि संस्थामा मुद्दती बचत शुन्य छ र अन्य बचतमा पैसा छ भने बैंकहरुले ब्याजदर २५ प्रतिशत नै पुर्याए भनेपनि संस्थालाई केहि प्रभाव पर्दैन । त्यसैले मुद्दतीभन्दा पनि अन्य बचतलाई सहकारीले प्राथमिकता दिनुपर्छ । 

(सीइअाे दुवालसँगकाे कुराकानीमा आधारित)