बुधबार, भाद्र ३ गते २०८३

पोखरा रोयलको नयाँ ब्याजदर, सदस्यले अब ८.८८ प्रतिशतमा नै ऋण पाउने

श्रावण ३, २०७८ आइतबार
पोखरा रोयलको नयाँ ब्याजदर, सदस्यले अब ८.८८ प्रतिशतमा नै ऋण पाउने

 

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार अब सदस्यहरुले ८.८८ प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । संस्थाले नयाँ आर्थिक वर्षको शुरुवातसँगै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

संस्थाले ८.८८ प्रतिशत व्याजदरमा ‘रोयल कियर लोन’ र ९.९९ प्रतिशत व्याजदरमा ‘व्यवसाय निरन्तरता ऋण’ दिने निर्णय जनाएको छ । संस्थाका अनुसार ‘रोयल कियर लोन’ १० लाख रुपैयाँसम्म र  ‘व्यवसाय निरन्तरता ऋण’ एक करोड १० लाख रुपैयाँसम्म दिइने छ । उक्त व्याजदर १ वर्षसम्म परिवर्तन नहुने  संस्थाले उल्लेख गरेको छ ।

कोरोना महामारीका कारण सदस्यहरुको व्यवसायमा प्रभाव परेको र त्यसलाई पुनरुद्धार गर्नका लागि सहुलियत स्किममा ऋण लगानी गर्न लागिएको मुख्य प्रबन्धक मिलन ढकालले बताए । संस्थाले उक्त शीर्षक अन्तर्गत ऋण प्रवाह गर्न ३० करोडको वित्तीय स्रोतको व्यवस्थापन गरेको उनले जानकारी दिए । 

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको यस संस्थाले थप तीन वटा सेवाकेन्द्र बाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल ७ हजार ३४६ सदस्य, २० करोड शेयर पूँजी, १३ करोड जगेडा कोष रहेको छ । गण्डकी प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा उक्त संस्थालाई राष्ट्रिय सहकारी महासंघले पुरस्कृत समेत गरिसकेको छ ।