मुलुकमा गएको ६० वर्षमा उद्योग क्षेत्रमा २६ खर्ब बढी लगानी भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८।०७९ सम्म उद्योग क्षेत्रमा २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ ।
नेपालमा आर्थिक वर्ष २०१७।०१८ सालदेखि २०७८।०७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको देखिन्छ । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ । विवरणअनुसार साना उद्योग पाँच हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन् । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ ।
विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको सङ्ख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिइन् । आव २०७७।०७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८।०७९ मा रु तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा रु एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो ।
गत आव २०७८।०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव २०७७।०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी लगानी प्रतिवद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा रु २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो ।
आव २०७८।०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा रु ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएको छ । आव २०७७।०७८ मा १८४ उद्योगका लागि रु ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिवद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म रु चार खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ ।