कर्णाली प्रदेशमा बचत तथा ऋण सहकारी संस्थाहरुको पुँजी बृद्धि भएको छ । गत आर्थिक वर्षको ६ महिनाको अध्ययनले कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ३३.८७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो पुँजी १०४.९७ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशका बचत तथा ऋणसहकारी संस्थाहरु छनौट प्रदेशको समग्र सहकारी क्षेत्रको अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो ।
बचत तथा ऋण सहकारी संस्थाहरुको पुँजी, बचत, ऋण, सदस्य संख्या र ती संस्थाबाट सिर्जित रोजगारी संख्याको अवस्था विश्लेषण गर्न रुकुम पश्चिमबाट ३, दैलेखबाट २, सुर्खेतबाट ४ र कालिकोटबाट एउटा गरी १० वटा नमुना छनौट गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को पुस मसान्तमा २१.५४ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षको सोही अवधिमा १३.९ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा कुल ऋण प्रवाह करिव २७ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिव १६ प्रतिशतले बढेको थियो । सहकारी संस्थामा आबद्ध सदस्य संख्यामा पनि समीक्षा अवधिमा वृद्धि भएको देखिन्छ । गत अवधिमा ७.०९ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा अवधिमा ४.६५ प्रतिशतले वृद्धि भएको छ ।
त्यस अवधिमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ११.११ प्रतिशतले वृद्धि भएको छ । प्रदेशभर सहकारी संस्थाको संख्यामा भने कुनैपनि वृद्धि भएको देखिएको छैन । यस अध्ययनबाट यस प्रदेशका सहकारी संस्थाहरुले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह गरेको राष्ट्र बैंक अध्ययनको निष्कर्ष छ ।