शनिबार, आश्विन १७ गते २०८३

आन्तरिक राजश्व विभागको परिपत्रः कोपोमिसमा विवरण प्रविष्ट गरेपछि मात्रै करचुक्ता दिनु

आषाढ ३०, २०७९ बिहीबार
आन्तरिक राजश्व विभागको परिपत्रः कोपोमिसमा विवरण प्रविष्ट गरेपछि मात्रै करचुक्ता दिनु


आन्तरिक राजश्व विभागले सहकारी संघसंस्थाहरुले कोपोमिसमा आवद्ध भएपछि मात्रै करचुक्ताको प्रमाणपत्र दिन परिपत्र गरेको छ । विभागले आफु मातहतका कार्यालयहरुलाई परिपत्र जारी गर्दै सबै सहकारी संघसंस्थाले कोपोमिस प्रणालीमा विवरण प्रविष्टि गरेको प्रमाण पेश गरेपछि मात्रै कर चुक्ताको प्रमाणपत्र जारी गर्न निर्देशन दिइएको हो ।

विभागले ठूला करदाता कार्यालय,मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई उक्त परिपत्र गरेको हो । सहकारी विभागले गत जेठ ९ गते राजश्व विभागलाई आगामी आ.ब. २०७९।८० देखि कोपोमिस प्रणालीमा आवद्ध भएको प्रमाण पेश गरेपछि मात्रै करचुक्ताको प्रमाणपत्र दिने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।

सहकारी संघ संस्थाले कोपोमिसमा आबद्ध हुन अटेर गरेपछि सहकारी  विभागले  राजश्व कार्यालयलाई गुहारेको हो । विभागको तथ्याकं अनुसार  ११ हजार ४ सय सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरेपनि  ७ हजार सहकारीले मात्र लगइन गरेका छन् । समष्टिगत विवरण बुझाउने सहकारीको संख्या ३ हजार हारहारीमा रहेको छ ।