एमालेको अर्थ तथा योजना विभागमा नाम रहेका एम अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेको छ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् ।
२०७३ सालको महाप्रसाद अधिकारी अहिले संक्षिप्तमा एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन नगरेको जनाए । विवाद सिर्जना भएकाले गभर्नरले राजीनामा दिनुपर्ने भन्दै उनले संसदमा भने, ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर स्पष्ट गर्नुपर्यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनामा दिनुपर्यो।’
नेकपा एमालेले भने पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गर्भनर नरहेको स्पस्टीकरण दिएको छ । उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
एमालेले जारी गरेको पत्रमा स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर होइनन् भनिए पनि अरु केही बताइएको छैन ।
राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।
यस अघि नेपाली काँग्रेसका सांसदहरूले पनि सदनमा अधिकारीका बारेमा संसदमा प्रश्न उठाएका छन् ।