भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा १०० औं अन्तरराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “महिला सहकारीको समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघको कार्यालय, ईतबुँमा भएको कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन २०४८ आएपश्चात् देशमा सहकारी संस्थाको संख्या बढेसँगै सहकारीमा पनि विकृति पनि मौलाइरहेको बताए । सहकारीको यथार्थ तथ्यांक पाउन गाह्रो भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको एकीकृत सूचना प्रणालीको रुपमा कोपामिसको निर्माण गरेको उनले जनाए ।
साथै कानुन विपरीत संचालित बहुउद्देशीय सहकारी संस्था संचालनमा रोक लगाउनुपर्ने र त्यस्ता संस्थालाई स्थानीय निकायले कारवाहीको दायरामा ल्याउनुपर्ने उनले औंल्याए । हालै संघीय सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशनमा संस्थाको तरलता १० प्रतिशत भन्दा कम भएका संस्थाले लाभांश बाँड्न नपाइने, बाँडेको पाइएमा कारवाही हुने जानकारी गराए ।
संघका संचालक एवं महिला सशक्तिकरण उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले वर्तमान अवस्थामा दर्ता भएका बहुउद्देश्यीय सहकारी संस्थाले पारेको प्रभावले महिला सहकारी पनि अछुतो नरहने उल्लेख गरिन् ।
अन्तरक्रियाबाट महिला सहकारी संस्था संचालनका लागि महिलाको साँस्कृतिक भूमिकालाई परिवर्तन गरी महिलाको नेतृत्वलाई सबल र सक्षम बनाउने, महिला सदस्य केन्द्रित सेवा सुविधालाई जोड दिने, महिला सहकारी बीच सहकार्य र समन्वयलाई निरन्तरता दिने, महिला सहकारी संचालनमा देखिएका समस्याहरुलाई समाधानको लागि एकबद्ध भई समाधानका लागि सम्बन्धित निकायमा पहल, समन्वय र सहकार्य गर्ने, सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्ने र महिला मैत्री नीति नियमको परिपालन र कार्यान्वयनका लागि पहल गर्ने निष्कर्ष निकालिएको उनले जानकारी दिइन् ।
महिला सशक्तिकरण उपसमितिका सदस्य सुवर्णप्रभा गुरागाईले महिला सहकारी संचालनका समस्या, चुनौती र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने संघका व्यवस्थापकले प्रस्तुत भएको कार्यपत्र माथि टिप्पणीकर्ताको भूमिका निभाउँदै महिलाहरुको लागि उद्यमशीलता विकास तालिम दिनुपर्ने, महिला लक्षित सेवा, सुविधालाई ध्यान दिनुपर्ने, आत्म सहयोग, स्वशासन, स्वउत्तरदायी भई सहकारी संस्था चल्नुपर्ने विचार व्यक्त गरिन् ।
संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गरेको कार्यक्रममा पाञ्चायण महिला साकोसका चन्द्रिका कुँवर, सिद्धेश्वर महिला साकोसका कुसुम अधिकारी, अग्रज महिला साकोसका सुनिता नेपाली, श्री देवीस्थान जागृति महिला साकोसका निर्मला के.सी., दक्षिणकाली महिला साकोसका शुशिला सुवेदी, नारी सेवा साकोसका विद्या शर्मा, नालाछाप प्रगतिशील महिला साकोसका भवानी खड्का, भक्तपुर महिला साकोसका चञ्चली कर्माचार्या लगायतले मन्तब्य राखेका थिए ।