असार मसान्त लागेपछि खर्च गर्ने सरकारी परिपाटीले यो पटक पनि निरन्तरता पाएको छ । महालेखा नियन्त्रकको कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको असार अन्तिम साता भुक्तानी प्रणाली बन्द हुने भएकाले अधिकांश सरकारी निकायले अर्बौं रुपैयाको भुक्तानी चेक जारी गरेका हुन् ।
भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने सूचना प्रकाशित भएपछि असार २५ शनिबारका दिन मात्रै २५ अर्बका चेक काटिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
शनिबार दिन हालसम्मकै ठूलो रकम खर्च भएको कार्यालयले जनएको हो । संघीय सरकारका विभिन्न सरकारी खाताबाट एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बढी भुक्तानी भएको छ ।
चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये शनिबारसम्म पूँजीगत शीर्षकमा १२ खर्ब ३७ अर्ब ७० करोढ बढी रुपैंया खर्च भएको छ । जुन कुल बजेटको ७५.८ प्रतिशत हो ।
यसमध्ये चालु शिर्षकमा विनियोजित बजेटको ८९.०५ प्रतिशत बजेट खर्च भएको छ । चालु शिर्षकमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ९ खर्ब ३८ अर्ब २९ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
विकाश खर्च तर्फ ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबर छुट्टयाएकामा हालसम्म १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ अर्थात ५०.११ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ५२.५८ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबर विनियोजन भएकोमा ९९ अर्ब ३५ करोड ९० लाख रुपैयाँ बराबर खर्च देखिन्छ ।
कार्यालयले असार २१ गते एक सूचना जारी गरी सम्बन्धित कार्यालयलाई असार २६ गते आइतबारदेखि भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ ।
कार्यालयको तथ्यांक अनुुसार शुक्रबार एकैदिन १५ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ र बिहीबार ९ अर्ब ८१ करोड ६ लाख बढी भुक्तानी निकासा भएको छ ।