भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रको दायरा व्यापक भएपनि यसले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेको बताएकी छिन् । एकसयौं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मानवीय विकास, पर्यावरण संरक्षण र गरिबी निवारणका लागि सहकारिता आवश्यक रहेको उल्लेख गरिन् ।
सहकारीमा अझैपनि व्यापक रुपमा आम जनता आवद्ध हुन नसक्नु, पर्याप्त पुँजीको अभाव रहनु, व्यवस्थापकीय क्षमतामा अभिवृद्धि हुन नसक्नु र संगठनात्मक कमजोरी जस्ता समस्या विद्यमान रहेको उनको भनाई छ ।
यस क्षेत्रमा पर्याप्त पूर्वाधारको विकास भइनसकेको, सुशासन र दक्षताको अभाव हुँदा केहि व्यक्तिको बोलबाला रहेको, यस क्षेत्रमा कार्यरतहरुमा उत्प्रेरणाको अभाव रहेका कारणले आशातित सफलता हासिल हुन नसकेको उनले औंल्याइन् ।
मुलुकमा भएको राजनीतिक परिवर्तन, राज्य पुनर्संरचना, जनताको उच्च आकांक्षा, सामाजिक रुपान्तरणको स्थिति र प्रविधिको विकासका कारण भने सर्वसाधारणको आशा भने सहकारीप्रति दिनानुदिन बढेको मन्त्री श्रेष्ठले बताइन् ।
महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा ६५औं राष्ट्रिय सहकारी दिवसका दिन घोषणा पुरस्कार तथा सम्मान विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रदान गरिएको छ ।